25th September | 2020 | Friday | 10:19:28 PM

पर्यटन क्षेत्र उकास्न सरकारको प्रत्यन जारी : पर्यटनमन्त्री

हिमालय टाइम्स   POSTED ON : असार २०, २०७७ (१०:१३ AM)

पर्यटन क्षेत्र उकास्न सरकारको प्रत्यन जारी : पर्यटनमन्त्री

काठमाडौं । संस्कृत, पर्यटन, नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण पर्यटन क्षेत्रमा करिब ४१ अर्ब रुपैयाँको क्षति भएको बताउनुभएको छ । उहाँले यो क्षतिलाई मध्य नजर गरेर आगामी दिनमा काम गर्नुपर्नेसमेत बताउनुभयो । 

शुक्रबार नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठित अध्ययन कमिटीले लकडाउनको यो अवधिसम्म जम्मा ३४ अर्ब रुपैयाँ क्षति पुगेको प्रतिवेदन पेश गरेको हो । साउन ७ गतेसम्म सरकारले गरेको लकडाउनसम्म ७ अर्ब थपिने कार्यक्रममा बताइएको छ । हालसम्म भएको र अब हुने क्षति गरी पर्यटन क्षेत्रमा मात्र ४१ अर्बको कारोबार क्षति हुने अनुमान पर्यटनमन्त्री भट्टराईको छ । 

उहाँले सरकारको बजेट तथा कार्यक्रममार्फत् पर्यटन क्षेत्रमा पुनर्कर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था भएको बताउनुभयो । उहाँले होटलका लागि मूल्य अभिवृद्धि कर ‘भ्याट’ दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर ४ महिना पु-याइएको बताउनुभयो । हाल हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारसमक्ष सिफारिश समेत गरिएको उहाँले जानकारी दिनुभयो । 

पर्यटनमन्त्री भट्टराईले बन्द रहेका होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको भन्दै अहिलेको पर्यटक÷ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेरमात्रै नहुने उहाँको भनाइ छ । उहाँले व्यवसायीहरूले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने बताउनुभयो । 

मन्त्री भट्टराईले हवाई जहाज पनि आवश्यक प्रोटोकल बनाएको जानकारी दिँदै सञ्चालनका लागि केही समय अझै लाग्ने बताउनुभयो । उहाँले कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरू देशहरूको तथ्यांक अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरूसँग सल्लाह गरी छिट्टै सञ्चालनका लागि सीसीएमसीमा प्रस्ताव लिएर जाने बताउनुभयो । 

कोभिड–१९ को जोखिम न्यूनीकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल स्वीकृत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख विमानस्थलहरूमा निश्चित दूरी कायम गरी सञ्चालनको तयारीका लागि मार्किङसहितका सुरक्षात्मक उपाय प्रबन्धसमेत गरिएको छ । ‘कोभिड–१९ को महामारीको चुनौती स्वास्थ्य सुरक्षा भएकाले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि स्वास्थ्य सुरक्षाको प्रोटोकल सार्वजनिक गरिसकेका छौं,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘सबैलाई पालना गर्न पनि निर्देशन गरेका छौं ।’

पर्यटनमन्त्री भट्टराईले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि समय थप गरिएको बताउनुभयो । उहाँले कोरोना भाइरसले समयमै निर्माण हुन नसकेको भन्दै समय थप गरिएको जानकारी दिनुभयो । 

‘कोरोना भाइरसको महामारी नहुँदो हो त यतिबेला भैरहवास्थित विमानस्थलबाट व्यावसायिक उडान भइसक्ने थियो, तर अहिले त्यो हुन सकेन, त्यसैले अहिले निर्माणका लागि समय थप गरेका छौं,’ उहाँले भन्नुभयो । उहाँका अनुसार सन् २०२० को डिसेम्बर महिनामा विमानस्थल निर्माणको काम सकिने र त्यसको तीन महिनापछि अर्थात् मार्च महिनाबाट व्यावसायिक उडान सुरु गरिनेसमेत जानकारी दिनुभयो । 


Views: 181

सम्बन्धित सामग्री:

रु ६० मा एककिलो प्याज

: आश्विन ९, २०७७ (८:५६ PM)