13th August | 2020 | Thursday | 8:48:29 AM

सलहको आतंक अन्त्य

लेखनाथ पोखरेल   POSTED ON : असार २२, २०७७ (१२:२५ PM)

सलहको आतंक अन्त्य

काठमाडौ । गत सातासम्म नेपालमा सक्रिय रहेको सलह विस्तारै हराउँदै गएको छ । हाल नेपाल भित्रिएको सलह खासै सक्रिय नरहेकोले डराउनुपर्ने अवस्था नरहेको अधिकारीले बताएका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलहले नेपालका ८ जिल्लामामात्रै केही क्षति पु-याएको थियो । सलह नेपालमा धेरै जिल्लामा प्रवेश गरेको भएपनि मकवानपुर, सिन्धुली, दाङ, कपिलवस्तु, रूपन्देही, प्युठान, अर्घाखाँची, पाल्पा र रोल्पामामात्रै केही बालीमा क्षति पु-याएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले हिमालय टाइम्सलाई बताउनुभयो ।

सुवेदीका अनुसार मकबानपुरमा १०५ हेक्टर मकै तथा तरकारीबालीमा सामान्य देखि मध्यमस्तरसम्मको क्षति पु-याएको छ भने सिन्धुलीमा मकैखेतीमा समान्य क्षति पुुरयाएको थियो । त्यस्तै दाङको ५८० हेक्टर क्षत्रफलमा लगाएको मकै तथा तरकारी बालीमा सामान्य क्षति पु-याएको छ भने कपिलवस्तुमा मकै तथा तरकारी बालीमा सामान्यदेखि मध्यमस्तरको क्षति पु-याएको थियो । त्यस्तै रूपन्देहीमा पनि मकैबालीमा सामान्यदेखि मध्यमस्तरसम्मको क्षति पु-याएको छ भने प्युठानमा २८३ हेक्टरमा मकै, फलफूल, तरकारी तथा भटमास बालीमा सामान्यदेखि मध्यमस्तरको क्षति पु-याएको थियो ।

त्यसैगरी अर्घाखाँचीमा मकै तथा तरकारी गरी १ सय हेक्टर, पाल्पामा मकै तथा तरकारी गरी ५० हेक्टर र रोल्पामा मकैबालीमा सामान्य क्षति पु¥याएको थियो । सलहको उपस्थिति, सिन्धुली, पर्सा, बारा, रौतहट, चितवन, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौ.ललितपुर, लमजुङ, स्याङजा, कास्की, गुल्मी, कैलाली, सुर्खेत, सल्यान, डडेलधुरालगायत ५२ जिल्लामा सहलको उपस्थिति देखिएको भएपनि जम्मा ८ जिल्लामामात्रै केही क्षति पु-याएको हो । 

सहल स्थानान्तरण भइ गएको र कतिपय स्थानमा छिटफुट रूपमा मात्र देखापरेको थियो । सुवेदीले केही जिल्लामा अझै पनि सानो झुण्डमा सलहको उपस्थिति रहेपनि क्षति पु¥याएने स्तरको नरहेको बताउनुभएको छ । दक्षिणबाट उत्तरतर्फ हावाको वहावका कारण सलह उत्तरतर्फ लागेको र चिसो कारण मरेको सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, ‘लह भागेर दक्षिणतर्फ गएको होइन, नेपालमै स–सानो झुण्डमा विभाजित भएको हो र दक्षिणबाट उत्तरतर्फ हावाको बहाव हुँदा चिसो खप्न नसकी केही सलह मरेका हुन् ।’ सुवेदीले हालसम्म नेपाल भित्रिएको सलहबाट डराउनुपर्ने अवस्था नरहेपनि फेरी भित्रिनसक्ने संभावनाप्रति भने सचेत रहनुपर्ने बताउनुभएको छ । 

केन्द्रका अनुसार हाल नेपालबाट सबैभन्दा नजिक रहेको सलहको झुुण्ड उत्तर प्रदेशको चौरारा तहसिल (जुन उत्तर प्रदेश र मध्य प्रदेशको सिमानामा पर्छ) मा छ । अपरिपक्व बयस्क रहेको उक्त झुण्ड ७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसको स्थानान्तरण अझै दक्षिणतर्फ हुने प्रक्षेपण गरिएको छ । उक्त स्थान भैरहवाबाट करिब ५७८ किलोमिटर टाढा छ । अहिलेको हावाको वहावको पूर्वानुमानअनुसार पूर्वी हावाको प्रभाव रहेकाले उक्त झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना न्यून देखिएको छ ।

धानबाली लगाउने समयमा नेपालमा पनि एक्कासी सलह भित्रिएपछि किसान आत्तिएका थिए । सरकारले भने नेपालमा सलह नआउने निष्कर्ष निकाल्दै सलह नियन्त्रणको पूर्वतयारीसमेत गरेको थिएन । त्यसो त कृषि विज्ञले नेपालमा सलह भित्रिए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए ।

नेपाल भित्रिएको सलहको झुण्ड सानो भएकोले नियन्त्रण गर्न सकिने उनीहरूको भनाइ थियो । बाली संरक्षणविज्ञ डा. डल्लीराम शर्माले भारतबाट आएको सलहको बथान सानो भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको थियो । सलह ठूलो समूहमा ८ करोडसम्म हुने भए पनि नेपालमा ४,५ करोडबाट छुटिटएर आएकाले सानो समूह रहेको उहाँको भनाइ थियो । शर्माका अनुसार ठूलो समूह २५ किलोमिटर स्क्वायर मिटरसम्मको हुन्छ तर नेपालमा भित्रिएको सलह ०.५ किलोमिटरकोमात्रै थियो । नेपाल भित्रिएको सलहको संख्या पनि वृद्धि हुने अवस्था पनि थिएन । किनभने सलहले नेपालमा अण्डा पार्दैन, अण्डा पार्न भारतको राजस्थानमै पुग्नुपर्छ, सलहले बालुवामा मात्रै अण्डा पार्छ, त्यसैले नियन्त्र गर्न सजिलो छ । त्यस्तै सलह एकै ठाउँमा पनि बस्दैन, जता हावा चल्छ, त्यत्तैतिर उड्छ । एक दिनमा १५० किलोमिटरसम्म उड्नसक्छ, साँझ परेपछि रुखमा वस्छ र घाम लागेपछिमात्रै बालीतिर लाग्छ । त्यसैले बिहान घाम लाग्नुअघि सलह बसेको ठाउँमा विषादी प्रयोग गर्न सकिन्छ । 


Views: 142