10th August | 2020 | Monday | 4:17:17 PM

वर्षाले ५ सय मेगावाट उत्पादन बन्द

हिमालय टाइम्स   POSTED ON : असार २७, २०७७ (११:४३ AM)

वर्षाले ५ सय मेगावाट उत्पादन बन्द

काठमाडौं । भारी वर्षाले खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहबाट क्रमशः : करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिनुभएको छ । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उहाँको भनाइ छ ।

घिसिङले भन्नुभयो ‘विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं, आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’ 

घिसिङका अनुसार बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेका छन् । बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबारदेखि बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाब झन् बढेर आएकाले विद्युत्गृह कतिवेला सञ्चालन गर्न सकिन्छ, केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले बताउनुभएको छ । प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द रहेका छन् भने निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायत विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ । इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रूख ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।


Views: 37