13th August | 2020 | Thursday | 8:45:26 AM

यातायातको कर बुझाउनै मुस्किल

सीताराम ओझा   POSTED ON : असार ३१, २०७७ (९:२८ AM)

यातायातको कर बुझाउनै मुस्किल

धनगढी । कैलाली गेटाका दिपेन्द्र पाल यातायात व्यवस्था कार्यालयमा कर बुझाउनकै लागि बिहान ९ बजे धनगढी पुग्नुभयो । सयौंको संख्यामा लाइन लागेका सेवाग्राहीसँगै उहाँ पनि लाइन बस्नुभयो । कोरोनाको त्रासबीच कर बुझाउन यातायात कार्यालय पुग्नुभएका पाल सामाजिक दूरी कायम नगरी लाइनमा बस्न बाध्य हुनुभयो ।

बिहान ९ बजे लाइन लाग्नुभएका पालको पालो दिउँसो १ बजेपछिमात्रै आयो । ‘छिटो काम होला भनेर बिहानै आएको थिए, समयमा काम नहुँदा समस्या भयो’ उहाँले दुखेसो पोख्नुभयो । सरकारलाई कर बुझाउन आपत भएको उहाँको गुनासो थियो । कर बुझाउनकै लागि धनगढी उप–महानगरपालिका ३ का प्रेम पाण्डेय पनि यातायात व्यवस्था कार्यालय कैलालीमा बिहान १० बजे पुग्नुभएको थियो । कार्यालय खुलेदेखि नै लाइन बस्नुभएका पाण्डेयको पनि २ बजेसम्म पालो आएन । ‘सरोकारवाला निकायको बेवास्ताका कारण अव्यवस्थितरूपमै कर बुझाउनुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो । सरकारलाई कर बुझाउनसमेत जनताले सास्ती पाइरहेको उहाँको गुनासो थियो । ‘सरकारलाई कर बुझाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने यो कस्तो व्यवस्थापन हो’, उहाँले प्रश्न गर्नुभयो । 

कोरोना प्रभावपछि जारी लकडाउन अवधिको करसमेत यसै आर्थिक वर्षभित्र बुझाउनुपर्ने भएका कारण केही दिनयता कार्यालयमा भीडभाड बढेको हो । असार मसान्तसम्म कर बुझाउन नसके जरिवानासमेत तिर्नु भएका कारण अहिले भीडभाड बढेको हो । तर सुदूरपश्चिम प्रदेश सरकारकै मातहत रहेको यातायात व्यवस्था कार्यालय कैलालीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन लापरवाही गरेको गुनासो सेवाग्राहीको छ । यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने असार मसान्तभित्र कर बुझाउनेलाई जरिवाना नलाग्ने भएका कारण भीड बढेको बताउनुभयो । ‘यो महिनाभित्र यस्तै भीड हुन्छ, हामीले आफ्ना तर्फबाट गर्ने व्यवस्थापन गरिरहेका छौं’, उहाँले भन्नुभयो ।

आर्थिक वर्षको अन्त्यमा सवारी कर बुझाउनुपर्ने, नवीकरण गर्नुपर्ने, सवारीसाधन नामसारी गर्नुपर्नेलगायत कामले सेवाग्राही यातायात व्यवस्था कार्यालय पुग्ने गरेका छन् । तर बैंक काउण्टर अभाव, व्यवस्थापनमा कमजोरी कारण सेवाप्रवाहमा ढिलासुस्तीमात्रै भएको छैन, कार्यालयमा लागेको अत्यधिक भीडभाडले कोरोना जोखिमसमेत बढेको छ ।


Views: 89