13th August | 2020 | Thursday | 9:06:41 AM

औषधि उद्योगी आन्दोलित

हिमालय टाइम्स   POSTED ON : असार ३१, २०७७ (९:३० AM)

औषधि उद्योगी आन्दोलित

काठमाडौं । नेपाल औषधि उत्पादक संघले मंगलबार औषधि व्यवस्था विभागमा धर्ना दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २२ गते स्यानेटाइजर दर्ताका लागि थप ३ महिना समयावधि दिने निर्णयको विरोध गर्दै धर्ना दिएको हो । 

संघले दर्ता समय थपिनु भनेको विनादर्ता र बिनागुणस्तर परीक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिक्री गर्न दिनु जनताको स्वास्थ्यमाथिको खेलवाड भएको आरोप लगाउँदै कुनै पनि बहानामा नेपाली उद्योगको प्रबद्र्धनविरुद्ध गरिएका निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । संघले स्वास्थ्यमन्त्रीलाई भेटेरै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वय गर्न माग गर्दै १८ बुँदे मागपत्र यसअघि नै बुझाइसकेको छ मन्त्रीले औषधि परामर्श परिषद्को बैठक राखी तत्काल कार्यान्वयन गर्ने आश्वासन दिएको र संघले उक्त परिषदको बैठकका लागि आफना माग पनि बुझाइसकेको थियो तर एक्कासि स्यानिटाइजरकोे दर्ता समय थप गर्ने निर्णयका कारण आन्दोलनमा उत्रिन बाध्य भएको संघका महासचिव विप्लव अधिकारीले बताउनुभएको छ । 

आन्दोलन बुधबार पनि जारी रहने र मागको सुनुवाइ नभए बिहीबारदेखि आन्दोलनलाई थप कडा परिने बताउनुभएको छ । स्यानेटाइजरमा नेपाली औषधि उद्योग आत्मनिर्भर भइसकेकाले बिना दर्ता र गुणस्तर परीक्षण बिक्री गर्न दिने निर्णय फिर्ता गराउन, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एवं औषधिमा आत्मनिर्भरोन्मुख बनाउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधि व्यवस्था विभागका निर्देशकको संयोजकत्वमा अर्थ, उद्योग, वाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थविद्सहितको विज्ञ समूहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरी मन्त्रालयबाट कार्यान्वयनका लागि कार्यतालिकासहित पठाइएको भए पनि हालसम्म कार्र्यान्वयन नभएको संघको गुनासो छ । 

मन्त्रिपरिषद्को निर्णयले स्वीकृत प्रविधीजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम बिभागले नियमन गर्नेगरी स्वीकृति गरिएको भए पनि ती सामग्रीको उत्पादन र नियमन हालसम्म पनि नभएकाले मास्क, निसंक्रामक, पिपिई, कस्मेटिक, खाद्य परिपूरकलगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भए पनि उत्पादन अनुमति र प्रोत्साहन नगरिएको संघको भनाइ छ । 

औषधि उद्योगको कच्चापदार्थको आयात सिफारिशमा समेत दस्तुर लिने गरी असामान्यरूपमा १२ गुणासम्म वृद्धि गरिएकाले स्वदेशी उद्योग निरुत्साहित भएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ ।


Views: 204