15th August | 2020 | Saturday | 7:25:38 AM

टुँडिखेलको बृहत्तर गुरुयोजना

हिमालय टाइम्स   POSTED ON : श्रावण १४, २०७७ (१२:४७ AM)

टुँडिखेलको बृहत्तर गुरुयोजना

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको जग्गामा त्रिचन्द्र कलेज भवन पुननिर्माणको प्रस्ताव अघि सारेको छ । प्राधिकरण्का प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको जानकारी दिनुभएको छ । 

प्राधिकरणले काठमाडौंको मौलिकता झल्काउने र खुला ठाउँ निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसमा सुरुवाती चरणमा घण्टाघरतर्फको त्रिचन्द्र कलेजलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव छ । प्राधिकरणले घण्टाघरतर्फको भवनको प्रबलीकरणका लागि गतवर्ष विस्तृत परियोजना प्रस्ताव र इन्जिनियरिङ् डिजाइन सम्पन्न भएको र चालु आर्थिक वर्षमा सरकारको स्रोतबाट १० करोड बजेट व्यवस्थापन गरी बोलपत्र आहृवान गरेर अघि बढ्ने तयारी भइरहेको जनाएको छ । 

प्राधिकरण योजना महाशाखाका उपसचिव भगवान अर्यालका अनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका भारतीय एक्जिम बैंकको सहयोगअन्तर्गत २ अर्ब रुपैयाँको प्रस्ताव पठाइएको छ । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापक, विद्यार्थी संघ संगठनका पदाधिकारीसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरुयोजनाको कार्यान्वयनका लागि जमलमा रहेको जग्गामा कलेजको भवन बनाउन प्रस्ताव गरिएको बताउनुभयो । 

२०७६ साल भदौ ५ गते प्राधिकरणका प्रमुख कार्यकारी अघिकृत ज्ञवाली, सचिव शिवहरि शर्मा, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँ, शिक्षाध्यक्ष, रजिष्ट्रार त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखलगायतसँग छलफल भएको थियो ।

२०७६ साल माघ १५ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष, रजिष्ट्रार, त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखसहितको बैठकमा घण्टाघरतर्फको भवन प्रबलीकरण गर्ने र प्रबलीकरणको अवस्थामा पठनपाठन निरन्तरताका लागि ३० वटा कोठाको पिफ्याव भवन बनाउने कार्य प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अघि बढाउने र घण्टाघर पछाडिको जग्गामा भवनको डिजाइन कार्य अगाडि बढाउनेबारे छलफल भएको थियो । 

प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले हरिहर भवन पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ६५ करोडको व्यवस्था भइसकेको छ ।

नेपालकै सबैभन्दा जेठो कलेजका रूपमा रहेको त्रिचन्द्र कलेजका अधिकांश भवन जीर्ण भएका छन् । कलेजमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । प्राधिकरणले सरोकारवालासँग छलफल गरी बृहत्तर रानीपोखरीको गुरुयोजनाको प्रस्ताव तयार पारिएको जनाएको छ ।


Views: 49