13th August | 2020 | Thursday | 2:15:27 AM

देशभर ९५ प्रतिशत रोपाइँँ, गतवर्षभन्दा १५ प्रतिशत बढी रोपाइँँ

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (७:१६ AM)

देशभर ९५ प्रतिशत रोपाइँँ, गतवर्षभन्दा १५ प्रतिशत बढी रोपाइँँ

काठमाडौं । यसवर्ष देशभर ९५ प्रतिशतभन्दा बढी रोपाइँँ भएको छ । यसवर्ष समयमै वर्षा भएका कारण तुलनात्मकरूपमा बढी रोपाइँँ भएको छ । कृषि विभागका अनुसार बिहीबारसम्म कुल ९५.६० प्रतिशत रोपाइँ भएको हो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १५ प्रतिशत बढी हो । 

उच्च पहाडमा ९३.१७, मध्य पहाडमा ९१.७२ र तराईमा ९७.६० प्रतिशत रोपाइँ भएको छ । हालसम्म कुल १३ लाख ११ हजार २ सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँँ सकिएको छ । अघिल्लो आवमा सोही अवधिमा ८०.१८ प्रतिशत रोपाइँँ भएको थियोे भने कुल १० लाख ९९ हजार ८ सय ६३ हेक्टरमा रोपाइँँ भएको थियो । अघिल्लो आवको सोही अवधिमा उच्च पहाडमा ८४.९२, मध्य पहाडमा ८०.६६ र तराईमा ७९.१८ प्रतिशत रोपाइँ भएको थियो । प्रदेश १ मा ८८.९४, प्रदेश २ मा ९९.२, प्रदेश ३ मा ८९.२४, गण्डकी प्रदेशमा ९६.७७, प्रदेश ५ मा ९७.८३, कर्णाली प्रदेशमा ९८.५३ र सुदूरपश्चिम प्रदेशमा ९८.१ प्रतिशत रोपाइँँ भएको छ । 

अघिल्लो वर्ष सोहीअवधिमा क्रमशः ७१.६५, ७४.५०, ७८.८३, ८४.५६, ८४.६०, ९२.४० र ९४.१७ प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष प्रदेशअनुसार क्रमशः २ लाख ७५ हजार ९ सय १, ३ लाख ६५ हजार ६ सय १५, १ लाख १५ हजार २ सय ९५, १ लाख ८ हजार २ सय ७८, ३ लाख ३ हजार ५ सय ९३, ३८ हजार ३ सय ८५ र १ लाख ६४ हजार ६ सय ३९ हेक्टरमा रोपाइँ भएको छ । 

अघिल्लो आवको सोही अवधिमा क्रमशः १ लाख ९७ हजार ६ सय ९२, २ लाख ७२ हजार ३ सय ८५, ९० हजार ८ सय ८३, ९१ हजार ५ सय ५४, २ लाख ५६ हजार ८ सय ४८, ३५ हजार ४ सय ६६ र १ लाख ५५ हजार ३२ हेक्टर क्षेत्रफलमा रोपाइँँ भएको थियो । सुदूरपश्चि प्रदेशको उच्च पहाडमा ९८.३२, मध्य पहाडमा ९७.३४ र तराईमा ९८.२१ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै कर्णाली प्रदेशको उच्च पहाडमा ९९.५२, मध्य पहाडमा ९८.३१ प्रतिशत रोपाइँ भएको छ भने प्रदेश ५ को मध्य पहाडमा ९०.७१ र तराईमा ९८.७६ प्रतिशत रोपाइँ भएको छ । 

त्यस्तै गण्डकी प्रदेशको मध्यपहाडमा ९६.२३ र तराईमा ९९ प्रतिशत रोपाइँ भएको छ भने प्रदेश ३ को उच्च पहाडमा ९२.२२, मध्य पहाडमा ८९.९७ र तराईमा ८५ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी प्रदेश २ को तराईमा ९९.२ र प्रदेश १ मध्य पहाडमा ८३.३ र तराईमा ९१.४९ प्रतिशत रोपाइँ भएको छ । नेपालभर कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा धानखेती हुने गरेको छ । 

सरकारले यस वर्ष धानको उत्पादन बढ्ने दाबी गरेको छ । कोरोना महामारीका बाबजुद पनि मौसमले साथ दिएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको कृषि विभागले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमश २.२० प्रतिशत र १.०५ प्रतिशत कमी भए पनि उत्पादकत्व १.२ प्रतिशतले वृद्धि भएको कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले जानकारी दिनुभएको छ ।

विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महवपूर्ण अन्न बाली मानिन्छ । विश्वको ३.५ अर्ब जनसंख्याको आधारभूत खाद्य वस्तुका रूपमा रहेको धान खाद्य तथा पोषण सुरक्षाका लागि आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत हो । संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धानखेती भई ७८ करोड २० लाख मेट्रिकटन उत्पादन हुने गरेको छ । ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकमै हुने गरेको छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन छ र त्यसपछि क्रमशः भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्र हुन् । नेपाल भने १७औं स्थानमा छ ।


Views: 57