25th September | 2020 | Friday | 9:22:16 PM

स्मार्ट मिटर जडान सुरु, मिटर रिडिङ अब विद्युत् कार्यालयबाटै

हिमालय टाइम्स   POSTED ON : श्रावण २६, २०७७ (१२:४० AM)

स्मार्ट मिटर जडान सुरु, मिटर रिडिङ अब विद्युत् कार्यालयबाटै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले घरायसी विद्युत्को सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गर्नु भएको हो ।

स्मार्ट मिटर प्रयोगपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन । विद्युत्् खपतको डाटा दुवैतर्फ प्रसारण हुनसक्ने हुँदा केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिनेछ । मिटर रिडिङका कारण हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ ।

स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुने प्राधिकरणको दाबी छ । काठमाडौं उपत्यकामा रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ ।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको सिंगल फेज र थ्री फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने प्राधिकरणले जनाएको छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अघि सारेको ‘डिजिटल एनइए’ कार्यान्वयनतर्फ गएको छ ।

सो अवसरमा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनीकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात कोशेढुंगा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्मार्ट मिटर जडानमात्रै होइन, संघीय राजधानीलगायत मुलुकका मुख्य–मुख्य शहरमा विद्युत््् वितरण प्रणालीलाई भूमिगत गरी शहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं, प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगमार्फत इतिहासमै पहिलोपटक उपभोक्ता महसुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं ।’ 

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रूपमा अगाडि बढाइने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सयदेखि ३ हजारसम्म कर्मचारीको खर्च कटौती हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिनेछ, साथै अब चाँडै वर्षायाममा बढी विद्युत् उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिनेछ, स्मार्ट मिटरमा पोष्ट पेड र प्रिपेड दुवै फङसन हुने भएकाले ग्राहकको इच्छाअनुसार पोष्टपेड र प्रिपेड गर्न सकिनेछ, ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्नसक्ने हुँदा सजिलो हुन्छ ।’

प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे (टिओडी) मिटरलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थ्री फेज होल करेन्ट मिटर स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्री फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ । 

स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरलाई हुनेगरी जडान गरिनेछ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ छ । यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ । 


Views: 74

सम्बन्धित सामग्री:

रु ६० मा एककिलो प्याज

: आश्विन ९, २०७७ (८:५६ PM)