29th September | 2020 | Tuesday | 12:51:56 AM

भदौ १६ पछि पनि उडान रोकिए आन्दोलन

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (१२:२५ AM)

भदौ १६ पछि पनि उडान रोकिए आन्दोलन

काठमाडौं । निजी वायु सेवा प्रदायकले सरकारले आगामी भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले भदौ १ देखि नै नियमित हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेकोमा देशभर कोरोना संक्रमण बढ्दै गएपछि फेरि पनि भदौ १५ सम्मका लागि हवाइ उडानमा रोक लगाएको थियो । 

प्रतिबन्धको समय बढाइएपछि वायुसेवा सञ्चालक संघ नेपालले आन्दोलनको चेतावनी दिएको हो । सरकारको पछिल्लो निर्णयका कारण नियमति उडान रोकिँदा हाल देशमा गइरहेको बाढीपहिरो, असक्त विरामी, सुत्केरीलगातको उद्धारमा समस्य परिरहेको उनीहरूले बताएका छन् ।

सरकारले भदौ १ देखि सञ्चालन गर्न दिने भनेर गरेको निर्णयसँगै हवाई सेवा प्रदायकले सञ्चालनको तयारी गरेको थिए । सरकारले भदौ १ देखि नियमित हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेकोले विमान कम्पनीहरूले टिकट बुकिङ सुरु गरेका थिए भने विभिन्न ट्राभल कम्पनीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्याकेज सार्वजनिक गरेका थिए । 

संघका अध्यक्ष क्या. रामेश्वर थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अब पनि विमान सेवा सञ्चालन नगरिए बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिनुभएको छ । हवाई सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभएमा आन्दोलनमा जानुपर्ने वाध्यात्मक अवस्था सिर्जना हुने विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण नफैलिने भन्दै संघले सरकारबाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुने दाबीसमेत गरेको छ । कोरोनाका कारण लामो समयदेखि हवाई सेवा उद्योग बन्द हुँदा यो उद्योगमा आश्रित परिवारको रोजीरोटी बन्द हुने अवस्थाका साथै उद्योग बन्द हुने अवस्था सिर्जना भएको संघको संघको गुनासो छ ।


Views: 68