26th September | 2020 | Saturday | 8:25:49 PM

चिया तथा कफीको प्रवद्र्धनका लागि नार्कसँग सहकार्य

  POSTED ON : भदौ २९, २०७७ (९:०३ AM)

चिया तथा कफीको प्रवद्र्धनका लागि नार्कसँग सहकार्य

काठमाडौं । नेपालमा चिया तथा कफीखेती विकास र विस्तार गर्ने उद्देश्यका साथ राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच समझदारी भएको छ । आइतबार एक कार्यक्रबीच कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा मन्त्रालय उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार चिया तथा कफी विकासका विविध क्षेत्रमा वैज्ञानिक अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी उत्पादन, उत्पादकत्व र गुणस्तरमा वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न बढी प्रतिस्पर्धी बनाई विदेशी मुद्रा आर्जन गर्दै देशलाई आर्थिक समृद्धि हासिल गर्न बोर्ड र नार्कले मिलेर काम गर्ने छन् । 

नेपाली माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्य गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहनसक्ने नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचन गर्न अनुसन्धनात्मक कार्य अघि बढाउने, नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका तथा भविश्यमा पर्नसक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्वलगायत समस्या समाधानका विविध पक्षमा अध्ययन, अनुसन्धान गर्ने समझारीपत्रमा उल्लेख छ । 

त्यस्तै चिया तथा कफी विकासका लागि आधारभूत एवं प्रयोगिक दुवै किसिमका अध्ययन तथा अनुसन्धान गर्ने, चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवांशिक, भौतिक, रसायनिक, भौगोलिक, जलवायु तथा वातावरणीय तथ्यांकको डिजिटल डाटाबेस बनाउने र अनुसन्धान गरेका कृति संयुक्त प्रकाशन गर्ने पनि समझदारीपत्रमा उल्लेख छ । 

त्यसैगरी जलवायु परिवर्तनका कारण नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउनसक्ने विभिन्न समस्या र असर न्यूनीकरणका लागि अध्ययन अनुसन्धान गर्ने, चिया तथा कफीसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम, दक्ष जनशक्ति उत्पादन, उच्च शिक्षा, नवप्रवर्तन र क्षमता विकासलगायत कार्यक्रम बढी उपयोगी र पूर्ण प्रयोगात्मक बनाउने, चिया तथा कफी उत्पादन, उत्पादकत्व वृद्धि र नवप्रवर्तनसम्बन्धी विभिन्न क्षेत्रमा अन्वेषण, नयाँ अनुसन्धानका क्षेत्र पहिचान, संयुक्त अनुसन्धान प्रस्ताव विकास, आवश्यक श्रोत व्यवस्थापन, अनुसन्धानका गतिविधि सञ्चालन, अनुसन्धानका निष्कर्षको प्रसार कार्यलगायतको संयुक्तरूपमा खोजी गरी कार्यान्वयन र सहकार्य गर्ने पनि समझदारीत्रमा उल्लेख छ । 

त्यस्तै चिया तथा कफी क्षेत्रमा अनुसन्धान र क्षमता विकासका लागि प्रयोगशाला निर्माण तथा तत् सम्बन्धी आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने, नेपालमा चिया तथा कफीको अनुसन्धान तथा विकासका लागि वल्र्ड कफ रिसर्च सेन्टरलगायत अन्य मुलुकका चिया तथा कफीमा अनुसन्धनात्मक कार्य गर्ने साझेदार अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको खोजी गर्ने रहेको छ । 

सम्झौतामा उल्लेखित लक्ष्य र उपलब्धि प्राप्तिका लागि बोर्डले मुलभूतरूपमा रिसर्च साइट उपलब्ध गराउनेछ भने फिल्ड लेभेल ट्रायललगायत चिया तथा कफी कृषकका बगानमै गर्नुपर्ने कार्यका लागि चिया÷कफी कृषकसँग समन्वय गर्नुपर्नेछ भने नार्कले सम्झौतामा उल्लेखित लक्ष्य र उपलब्धि प्राप्तिका लागि आवश्यकताअनुसार वैज्ञानिक, प्राविधिक जनशक्ति एवं ज्ञान, सीप उपलब्ध गराउने, नेपाली चिया तथा कफीका नयाँ जात उन्मोचनलगायत कार्य गर्नेछ । उक्त कार्यका लागि दुवै पक्षले चालु आवको वार्षिक स्वीकृत कार्यक्रम र बजेटको सीमाभित्र रही आवश्यक प्रारम्भिक अध्ययन अनुसन्धनात्मक कार्य गर्नुपर्नेछ भने आगामी आवमा चिया तथा कफीसम्बन्धी अनुसन्धनात्मक कार्य गर्न दुवै पक्षले आआफ्नो वार्षिक बजेटमा प्राथमिकताका साथ बजेट तथा कार्यक्रम समावेश गर्नुपर्नेछ ।


Views: 36