26th September | 2020 | Saturday | 8:31:35 PM

कृषक समूह महासंघको ११ बुँदे घोषणपत्र

  POSTED ON : भदौ ३०, २०७७ (८:२२ AM)

कृषक समूह महासंघको ११ बुँदे घोषणपत्र

काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघले विभिन्न ११ बुँदे घोषणापत्र जारी गरेको छ । महासंघको १० स्थापना दिवसको अवसरमा साताव्यापीरूपमा कृषि तथा किसान अधिकार अभियान सञ्चालन गरेकोमा सोमबार कार्यक्रमको समापनसँगै घोषणापत्र जारी गरेको हो । 

घोषणपत्रमा रसायनिक मल अभाव र यसको दिगो समाधानका लागि अनुसन्धानसहित योजना बनाउन सरकारसँग नियामित सम्बाद र थप पैरवी गर्ने, रसायनिक मलको विकल्पको बहसलाई थप प्रभावकारी बनाउने र दिगो कृषि प्रवद्र्धनको अभ्यास अघि बढाइने उल्लेख छ । त्यस्तै समयमै बीउबिजन उपलब्ध नहुने एवं बीउको गुणस्तरमा देखिएको समस्या समाधानका लागि स्थानीय र रैथाने बीउ संरक्षण र प्रवद्र्धनका लागि स्पष्ट योजनासहित स्थानीय तहमा बीउ उत्पादनको अभ्यास आवश्यक भएकाले महासंघको तहगत संरचनामार्फत कृषक समूह परिचालनका लागि तहगत सरकारसँग सहकार्य गर्नेछ ।

भूउपयोग ऐनको मर्मबमोजिम कृषि भूमिको खण्डीकरण र कित्ताकाट तत्काल रोक्न र प्रगतिशील भूमिसुधारको मुद्धा सम्बोधन गर्न आवश्यक नियामावली एवं निर्देशिका जारी गरी अविलम्ब किसान र भूमिहीनका पक्षमा कार्यान्वयनका लागि पैरवी गर्ने, कृषि उत्पादनको बजारीकरण र उचित मूल्य निर्धारणमा देखिएको समस्याका लागि स्थानीय तहको अगुवाइमा तहगत संरचना परिचालन गर्ने, किसानको पहिचान, वर्गीकरण, परिचयपत्र र त्यसको आधारमा सेवासुविधा उपलब्ध गराउन स्थानीय सरकारलाई आवश्यक सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख छ ।

कृषक समूहहरूले स्थानीय लेखा नम्बर अनिवार्य लिनुपर्ने व्यवस्थाका कारण कृषक समूह राज्यको सेवासुविधाबाट वञ्चित बन्न पुगेकाले यस व्यवस्था अविलम्ब खारेजी गरिनुपर्ने, स्थानीय तहमा कृषिका क्षेत्रगत विज्ञकोे व्यवस्था गरिनुपर्ने, कृषि तथा बाली बीमालाई साना किसानमैत्री बनाउँदै ग्रामीण किसानको पहुँच सुनिश्चितताका लागि स्थानीय सरकारको प्रत्यक्ष सहभागिता रहने गरी बीमा कार्यक्रम सञ्चालन गरिनुपर्नेमा महासंघले जोड दिएको छ ।

त्यस्तै कृषि तथा पशुपक्षीमा देखिने रोग किरा एवं जंगली जनावरको आंतकबाट हुने क्षतिमा किसानलाई क्षतिपूर्तिसहितको जोखिम हस्तान्तरणको स्पष्ट व्यवस्था हुनुपर्ने, कोरोनाले साना, सीमान्त, भूमिहीन, कृषि मजदुर र महिला किसानलाई पारेका प्रभाव अध्ययन र विश्लेषण गरी विशेष योजना बनाउनुपर्ने र किसानका लागि बन्ने योजना तर्जुमा प्रक्रियादेखि नै किसानको सहभागिता एवं कृषिसँग सम्बन्धित समिति एवं नीतिगत तहमा तहगत महासंघको सस्थागत प्रतिनिधित्व हुनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ । कार्यक्रमलाई पूर्वकृषिमन्त्री हरि पराजुलीलगायतले सम्बोधन गर्नुभएको थियो ।


Views: 43