28th September | 2020 | Monday | 10:28:01 PM

भारतद्वारा प्याजमा प्रतिबन्ध : कालोबजारी गर्ने ६ जना व्यापारीमाथि कारवाही

लेखनाथ पोखरेल   POSTED ON : भदौ ३१, २०७७ (९:१० AM)

भारतद्वारा प्याजमा प्रतिबन्ध : कालोबजारी गर्ने ६ जना व्यापारीमाथि कारवाही

काठमाडौं । नेपालीहरूको महत्वपूर्ण चाड दशैँ नजिकिँदै गर्दा भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याज महँगिएको छ । भन्सार विभागले भारतले भारतले सोमबारदेखि प्याज निर्यात रोकेको पुष्टि गरेको छ भने कालिमाटी फलफूल तथा तरकारी विकास समितिले पनि भारतले प्याज निर्यात रोकेको र स्टकमा रहेको प्याज पनि सकिन लागेको जनाएको छ । 

व्यापारीले भने भारतबाट प्याज आउन छाडेपछि मनमरी मूल्य असुल्न थालेका छन् । सोही क्रममा मंगलबार अनुगमन टोली ६ जना व्यापारीलाई कारबाही गरेको छ । अनुगमनमा खटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले प्याजमा बढी मूल्य लिने ६ जना व्यापारीलाई कारबाही गरेको समितिका उपनिर्देशक विनय श्रेष्ठले हिमालय टाइम्सलाई बताउनुभयो । श्रेष्ठका अनुसार व्यापारीहरूले बिहान प्रतिकेजी ७० देखि ७५ रुपैयाँ बिक्री गरेको प्याज दिउँसो १ सयदेखि १ सय १० रुपैयाँसम्म बिक्री गरेको देखिएपछि विभागले कारबाही गरेको हो ।

श्रेष्ठले कालिमाटी बजारमा स्टकमा रहेको प्याज बुधबारसम्म सकिने भएकाले बजारमा केही महिना प्याज अभाव हुनसक्ने बताउनुभएको छ । श्रेष्ठका अनुसार कालिमाटीमात्रै दैनिक ६० टनभन्दा बढी व्याज आयात हुने गरेको छ । चीनबाट ल्याउन सकिने भए पनि प्याज आयात गर्न व्यापारीहरू डराइरहेका छन् । भारत जस्तो चीनबाट आयात सहज नभएको र नेपाल आइपुग्न एक महिना लाग्ने र सोहीबीचमा भारतले प्याज आयात खुला गरेमा ढुब्ने डर व्यापारीहरूमा छ । किनभने चिनियाँ प्याज महँगो पनि छ ।

त्यसो त विगत वर्षमा पनि भारतले प्याज निर्यात रोक्ने थियो । उत्पादन कम भएकाले भारतमै अभाव हुने भन्दै प्याजको नयाँ उत्पादन नआउँदासम्म निर्यात रोक्ने गरेकोमा यसपटक भने भारतमा पर्याप्त उत्पादन हुँदाहुँदै निर्यात रोकिदिएको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले हिमालय टाइम्सलाई बताउनुभयो ।

समितिका अनुसार भारतले प्याज निर्यात रोकेको भोलिपल्ट अर्थात् मंगलबार प्याज प्रतिकेजी ७४ देखि ७६ रुपैयाँ रहेको छ । तर खुद्रा व्यापारीले उपभोक्तासँग अधिक मूल्य असुल्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । अघिल्लो वर्षको सोही दिन प्रतिकेजी ७५ देखि ८० थियो तर २०७५ भदौ ३० गते भने प्याज प्रतिकेजी २९ देखि ३० रुपैयाँ रहेको समितिको तथ्यांक छ । २०७४ भदौ ३० गते प्रतिकेजी ३८ देखि ४० रुपैयाँ थियो । महासंघका अध्यक्ष घिमिरेले भारतले प्याज निर्यात रोकेकाले दशैँमा प्याज अभाव हुने बताउनुभएको छ । विगत वर्षमा भारतले रोके पनि चीनबाट प्याज आयात हुने गरेकोमा यसवर्ष कोरोनाका कारण चीनबाट प्याज आयात संभव नरहेको घिमिरेले बताउनुभयो । नेपालमा प्याजमा पूर्णरूपमा भारतमै निर्भर छ । घिमिरेका अनुसार कालिमाटी बजारलगायत काठमाडौं उपत्याकामा मात्रै दैनिक १ सय टन प्याज आयात हुने गरेको छ भने उपत्याका बाहिर पनि सोही हाराहारीमा प्याज आयात हुने गरेकाले भारतीय प्याजको नेपाल राम्रो बजार हो ।

त्यसो त प्याजमात्र नभई अधिकांश तरकारीको मूल्य बढेको व्यवसायीले बताएका छन् । व्यापारीले बढाएको नभई उत्पादन नै घटेकाले मूल्य बढ्न गएको उनीहरूको दाबी छ । काउली सबैभन्दा बढी महँगिएको छ । काउली स्थानीय प्रतिकेजी थोकमै ११५ रुपैयाँ छ भने ठूलो गोलभेडा ९८, सानो ७८, टनेल ९२, रातो आलु ९४, भारतीय आलु ५९, मुडे आलु ७९ रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा काउली ८२ रुपैयाँ थियो भने गोलभेडा क्रमशः ५२, ३३, ३७, आलु ५१, २७, ४७ रुपैयाँ रहेको समितिको तथ्यांक छ । त्यस्तै गाजर अघिल्लो वर्ष ९८ रहेकोमा ४८ रुपैयाँ छ भने बन्दा ४२ रहेकोमा ६२ रुपैयाँ, सेतो मूला ३८ रहेकोमा ४८ रुपैयाँ, हाइब्रीड मूला ४२ रहेको ४८ रुपैयाँ, बोडी ५८ रहेकोमा ७५ रुपैयाँ, घ्यू सिमी ५८ रहेकोमा ९५ रुपैयाँ छ ।


Views: 42