28th September | 2020 | Monday | 8:14:05 PM

कोरोनाबीच विमानस्थलका चार आयोजना सम्पन्न

  POSTED ON : भदौ ३१, २०७७ (९:१३ AM)

कोरोनाबीच विमानस्थलका चार आयोजना सम्पन्न

काठमाडांै । कोरोना महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएका छन् । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजनाअन्तर्गत ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङस्थल, अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

चारवटै आयोजनाको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । मन्त्री भट्टराईले कोरोनाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरूप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमणको जोखिम मोलेर आत्मवल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ ।×’ हालैको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने दाबीसमेत उहाँले गर्नुभयो । उहाँले कोरोनाबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग आवश्यक रहेको पनि बताउनुभएको छ । विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महŒवपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ । 

विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाँप कम गर्नुका साथै जहाज आकासमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने उहाँले बताउनुभयो । विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाडै काम थालिने जनाइएको छ । समानान्तर ट्याक्सी वे, विमानस्थलको तत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङस्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तारलगायत कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुंगो लगाएर निर्माण प्रारम्भ गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।


Views: 43