31st October | 2020 | Saturday | 4:49:21 AM

रु ६० मा एककिलो प्याज

  POSTED ON : आश्विन ९, २०७७ (८:५६ PM)

रु ६० मा एककिलो प्याज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले  आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ । 

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो  ।  

उहाँका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । “ हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफै बेच्न थालेको हौ ”, उहाँले भन्नुभयो,  “ एक जनालाई तीन किलोसम्म दिन थालेको  छौ । ” 

उहाँका अनुसार  रु ५२  राजस्व  र  रु ८  खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि उपत्यकामा प्याजको मूल्य रु १२० सम्म पुगेको बताइएको छ । 


 उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गर्नुभएको थियो । प्रजिअ दाहालले प्याजजस्तै चिनी लगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गरेर बजारमूल्य भन्दा बढी बिक्रीको पाइएमा हस्तक्षेप गरि आफैँ बिक्री गर्ने जानकारी दिनुभयो । 

 रासस


Views: 53