31st October | 2020 | Saturday | 9:17:42 PM

डिडिसी बटर प्रकरणमा के गर्ने ?, नियामक निकाय नै अन्योलमा

लेखनाथ पोखरेल   POSTED ON : आश्विन ३०, २०७७ (९:२७ AM)

डिडिसी बटर प्रकरणमा के गर्ने ?, नियामक निकाय नै अन्योलमा

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले बालाजुस्थित गोदाममा भण्डारण गरी राखेको बटर म्याद गुज्रिएको अवस्थामा भेटिए पनि डिडिसीलाई कस्तो कारबाही गर्ने वा नगर्ने भन्नेमा नियमनकारी निकाय नै अलमलमा रहेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बालाजुस्थित डिडिसीको उत्पादन कारखानामा अनुगमन गर्दा १ लाख ९४ हजार केजीभन्दा बढी मिति सकिएको बटर फेला पारेको थियो । त्यसलगत्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेको थियो । विभागले मंगलबार अनुगमन गरेको विभागका सहप्रवक्ता सन्तोष दहालले बताउनुभएको छ । विभागको टोलीले अनुगमन गरे पनि गुणस्तर परीक्षणका लागि नमुना भने नल्याएको दाहालले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमन मात्रै गरियो, नमुना संकलनको काम भएन किनभने कोरोनाले विभागमा पनि ल्याबको काम प्रभावित भएको छ, अहिले ल्याबका काम गर्ने कोही नहुँदा ल्याब बन्द अवस्थामै रहेको छ ।’ तर, डिडिसीले भने वटरको म्याद नगुज्रिएको दाबी गर्दै आएको छ । डिडिसीका प्रवक्ता राजेन्द्र अधिकारीले गोदाममा रहेको सबै बटरको गुणस्तर राम्रो रहेको हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘बटरमा कुनै समस्या छैन, डिडिसीको आफ्नै ल्याब छ, ल्याबमा नियमित परीक्षण हुन्छ, आवश्यकता प¥यो भने मात्र क्रस चेकका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रणको ल्याबमा पठाउने गरिन्छ, अहिले खाद्यको ल्याबमा पठाएका छैनौं ।’ विभागका प्रवक्ताले पनि डिडिसीको बटर म्याद गुज्रिएको भए पनि खान अयोग्य भन्न भने नमिल्ने दाबी गर्नुभएको छ तर प्रचलित ऐनअनुसार भने म्याद गुज्रिएको वस्तु खानयोग्य मानिँदैन, उत्पादक तथा वितरकको कारबाहीको भागीदार हुन्छ । त्यसैले डिडिसीको बटरका विषयमा कस्तो निर्णय लिने भन्ने अन्योल नै रहेको उहाँको भनाइ छ । दाहालले भन्नुभयो, ‘ठूलो परिणामको बटर रहेकोले नष्ट गर्ने अन्य प्रयोजनमा उपयोग गर्न मिल्ने नमिल्नेबारेमा विभाग डिडिसीसँग छलफलमा रहेको छ, निष्कर्ष निस्किसकेको छैन ।’ डिडिसीको बटर बजारमा प्रतिकेजी ८ सय ५० रुपैयाँ पर्छ । यही हिसाबले उक्त बटरको मूल्य १६ करोडभन्दा बढी हुन्छ । दाहालका अनुुसार अनुगमनका क्रममा लेबल नभएका कार्टुनमा बटर राखेको र केही कार्टुनमा लेबल भए पनि म्याद सकिइसकेको भेटिएको थियो । महानगरपालिकाको अनुगमन समितिका संयोजक हरिबहादुर भण्डारीका अनुसार चार वटा गोदाममा रहेको बटर निरीक्षण गर्दा अधिकांश मिति सकिएको फेला परेको थियो । एक वर्षअघिको उत्पादन मिति उल्लेख भएको बटर गोदाममा भेटिएको उहाँको भनाइ छ । मिति सकिएको र उपभोग्य मिति भएको खाद्यवस्तु अलग–अलग स्थानमा राखिने गरिन्छ तर डिडिसीका कर्मचारीले दुवै प्रकृतिका बटर एउटै गोदाममा राखेको उपभोक्ता अधिकारकर्मी माधवप्रसाद तिमल्सिनाले बताउनुभएको छ । कार्टुनमा प्याक गरेर राख्नु भनेको बजार पठाउने उद्देश्य भन्दै मिति सकिएको बटर बजार पठाउँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कुरामा सरकारी कम्पनी नै उदासीन देखिएको उहाँको जिकिर छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कुनै पनि वस्तुमा अनिवार्य रूपमा लेबलिङ गर्नुपर्ने हुन्छ । तर, अर्का उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनको भने फरक धारणा रहेको छ । डिडिसीले उक्त बटर उपभोक्तालाई बिक्रीका लागि नभई कच्चा पदार्थका रूपमा राखेकोले लेवलिङ आवश्यक नपर्ने र लेवलिङ नभएकै आधारमा बटरलाई गुणस्तरहीन भन्न नमिल्ने उहाँको जिकिर छ । महर्जनले हिमालय टाइम्ससँग भन्नुभयो, ‘आफ्नै प्रयोजनका लागि उत्पादित कच्चा पदार्थमा लेवलिङ हुँदैन, लेवलिङ नभएकै आधारमा म्याद गुज्रिएको भन्न पनि मिल्दैन, त्यो पनि चिलिङमा राखिएको बटर हो, चिलिङमा राखिएको बटरको २÷३ वर्षसम्म डेट जाँदैन तर पनि बटरको गुणस्तरको अवस्था के हो भन्ने कुरा खाद्य तथा गुण नियन्त्रण विभागको विषय हो, यो अरूको कार्यक्षेत्र नै होइन ।’ महर्जनले निजी डेरी उद्योगीको दबाबमा काठमाडौं महानगरपालिकाले डिडिसीमा अनुगमन गरेको दाबीसमेत गर्नुभएको छ । 


Views: 60