31st October | 2020 | Saturday | 9:41:01 PM

खानेपानी आयोजना निर्माण सम्झौता

रमेश विश्वकर्मा   POSTED ON : आश्विन ३०, २०७७ (९:२९ AM)

खानेपानी आयोजना निर्माण सम्झौता

गुल्मी । गुल्मी रेसुंगा नगरपालिकाको गौरवको आयोजना रेसुंगा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ । जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्र्तगत रेसुंगा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि त्रिपक्षीय सम्झौता भएको हो । संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँची, उपभोक्ता समिति तथा आयोजना निर्माणको जिम्मा लिएको कनकाई जयमाता जेभी प्रालिबीच २५ करोड १२ लाख लागत स्टमेटको सम्झौताको भएको हो । आयोजना २१ महिनाभित्र सम्पन्न गरिसक्नु पर्नेछ । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले निकै दौडधूपबाट आयोजना पार्न आफू सफल भएको बताउनुभयो । नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि आफू निरन्तर लागि रहेको भन्दै सबैको सहयोगबाट आयोजनाको सम्झौता गर्न सकिएको उहाँको भनाइ छ । आफूले नगरपालिकामा सञ्चालित ठूला आयोजना समयमै निर्माण कार्य सम्पन्न गर्न दबाब दिइरहेको भन्दै समयमै सम्पन्न नगर्ने ठेकेदार व्यवसायीलाई नछाडिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले विकास निर्माणको काममा बलौटे नभई चिम्टाइलो भएर काम गनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव वीरबहादुर कार्कीले जिल्लाका राजनीतिक दल विकास निर्माणका कार्यमा बाधक नबन्ने बताउनुभयो । जिल्लामा थुप्रै ठूला योजना सञ्चालन गरिए पनि कुनै आयोजना समयमै सम्पन्न नभएको उहाँको भनाइ छ । 

नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले मेलम्ची खानेपानी आयोजना जस्तो ढिलासुस्ती नगरी समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभययो । संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख रामप्रसाद घिमिरेले आयोजनालाई समयमै सम्पन्न गर्न जिल्लामा रहेका सबै राजनीतिक दल, सरोकारवाला निकायको सहजीकरण तथा सहयोगको आवश्यकता रहेको बताउनुभयो । आयोजना निर्माण सहजीकरणका लागि ११ सदस्यीय रेसुंगा भाडगाँउ, मझेङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको छ । जसको अध्यक्षमा थम्मन बहादुर खत्री, उपाध्यक्ष सावित्रा आर्चाय, सचिवमा खगेन्द्र बहादुर केसी, कोषाध्यक्ष सञ्जीवनी अर्याल हुनुहुन्छ भने सदस्यमा चेतमान कुँवर, बलबहादुर कुवँर, कल्पना पन्थी, पदमलाल पाण्डे, ओमकला थापा, धर्मराज पाण्डे, भगवती खत्री रहनुभएको छ । 


Views: 75