28th October | 2020 | Wednesday | 11:14:11 PM

अनुदान रकम उखु किसानकै खातामा

प्रकाश मैनाली   POSTED ON : आश्विन ३०, २०७७ (९:३० AM)

अनुदान रकम उखु किसानकै खातामा

सर्लाही । सर्लाहीका उखु किसानको बैंक खातामा बिहीबारदेखि अनुदान रकम जम्मा हुन थालेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोेलेनिका) सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले किसानको नामावली, चेक र चिठी बैंकहरूलाई बुझाइएको जानकारी दिनुभयो । दशैं बिदाअघि नै किसानले रकम पाउने गरी कार्यालयका अन्य काम रोकेर भए पनि किसानकै काममा लागिपरेको कोलेनिका प्रमुख थपलियाको भनाइ छ । उहाँका अनुसार यसपटक अनुदान रकम सोझै किसानको खातामा जानेछ । असोज २० गते जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सर्वपक्षीय छलफलबाट असोजभित्रै किसानको खातामा रकम पठाउने निर्णय गरेको थियो । गत वर्ष जिल्लाका दुई वटा चिनी मिलमा किसानले बिक्री गरेको उखुका आधारमा सरकारले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २५ पैसाका दरले अनुदान रकम पठाएको छ । हरिवन र बगदहको चिनी मिलले उखु क्रसिङ गरेको आधारमा सर्लाहीका लागि २१ करोड ३४ लाख ९५ हजार रुपैयाँ निकासा भएको छ । हालसम्म प्राप्त रकम सर्लाहीका किसानबाट वितरण सुरु गर्ने र यहाँका मिलमा ल्याएर उखु बिक्री गरेका अरू जिल्लाका किसानलाई क्रमैसँग वितरण गरिने कोलेनिका प्रमुख थपलियाले जानकारी दिनुभयो । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले कोरोनाका बहानामा भुक्तानीमा आलटाल भइरहेकोले तत्काल अनुदान पाउने व्यवस्था मिलाउन ताकेता गरिरहेको बताउनुभयो । उखुको पैसा आएपछि नै दशैं तिहारको किनमेल गर्नुपर्ने भएकाले किसानको बाध्यता बुझिदिन सबैतिर हारगुहार गरिरहेको उहाँको भनाइ छ ।


Views: 89