31st October | 2020 | Saturday | 9:48:43 PM

गुल्मी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष अमात्यको निधनमा शोक सभा

रमेश विश्वकर्मा   POSTED ON : आश्विन ३०, २०७७ (७:५१ PM)

गुल्मी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष अमात्यको निधनमा शोक सभा

गुल्मी । गुल्मी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष पशुपति अमात्यको निधनमा शोक व्यक्त गरिएको छ । 

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा शुक्रबार श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो । 

जिल्लाकै प्रतिष्ठित समाजसेवी एवं व्यवसायी रुरुक्षेत्र गाँउपालिका–१ रिडी निवासी अमात्यको असोज २२ गते ८१ बर्षको उमेरमा निधन भएको थियो ।

शोक सभामा अमात्यको निधनले उद्योग वाणिज्य संघ गुल्मीलाई स्तब्ध बनाएको अध्यक्ष श्रीप्रसाद भलामीले बताउनु भयो ।

स्वर्गीय अमात्यले सामाजिक, धार्मिक क्षेत्रमा पुर्याएको योगदान अतुलनिय र स्मरणीय रहेको भलामीले बताउनु भयो ।

 गुल्मी उद्योग वाणिज्य संघको २०४३ जेठ ३१ देखि ०४६ साउन १५ गतेसम्म उपाध्यक्ष बनेका अमात्य तत्कालित रुरुगाँउ पञ्चायतको वडा अध्यक्ष समेत हुनुहुन्थ्यो ।

अमात्यले रिडि मानव कल्याण वृद्धाआश्रम निर्माणको लागि जग्गा दान, आफ्नै लगानीमा पशुपति धर्मशालाको स्थापना, शैक्षिक क्षेत्रमा क्याम्पस तथा विद्यालय स्थापनामा आर्थिक सहयोग तथा रिडी माध्यमिक बिद्यालयकोे प्राङ्गणमा सरस्वती मन्दिर निर्माणसँगै तथा विद्यालयका २ वटा कोठा निर्माण गराउनु भएको थियो । 

नेपाल प्रौढ संगठन रिडीको अध्यक्ष हुँदै रिडिको खानेपानी व्यवस्थापनमा अतुलनीय योगदान दिनुभएको अमात्यले अर्गली पाल्पामा निर्माण भएको सभाहल तथा मन्दिर निर्माणको लागि जग्गादान गर्नुभएको थियो ।

 रुरुक्षेत्रमा मठ मन्दिर व्यवस्थापनमा अतुलनीय योगदान पुर्याउनु भएको अमात्यले सुगन्ध विहार रिडी निर्माणको लागि आर्थीक योगदान पुर्याउनु भएको थियो ।

देवदत्त पार्क रुरु कन्या मन्दिरको संस्थापक अध्यक्ष, ऋषिकेष मन्दिरको परिसरमा रहेको गायत्री मन्दिर निर्माणमा जग्गादान सहित आर्थिक सहयोग, मृत्यु हुनुभन्दा १ महिना अगाडि सुगन्ध बिहारको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

 अमात्यको निधनमा सदरमुकाम तम्घासका व्यवसायीहरु विहान ११ वजे सम्म बजार बन्द गरि संघको सभाहलमा आयोजना गरिएको शोक सभामा सहभागी भएका थिए । शोक सभामा गुल्मी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष नन्दराम भुसाल, पूर्वअध्यक्षहरु राजेन्द्र प्रसाद श्रेष्ठ, अखिलेश्वर प्रसाद पाण्डे लगायतका संघका वर्तमान पदाधिकारीहरुको उपस्थिती थियो ।


Views: 87