31st October | 2020 | Saturday | 10:03:14 PM

एशियाली मुलुकबीच सडक सञ्जाल : एशियन हाइवे बनेसंगै राजश्व चुहावटको भने चिन्ता

सुरेन्द्र भण्डारी   POSTED ON : कार्तिक १, २०७७ (९:०८ AM)

एशियाली मुलुकबीच सडक सञ्जाल : एशियन हाइवे बनेसंगै राजश्व चुहावटको भने चिन्ता

झापा । मेची भन्सार कार्यालय झापा मुलुककै तेस्रो धेरै राजश्व संकलन गर्ने भन्सार कार्यालयमा पर्छ । नेपालमा उत्पादित चिया, अदुवा, अम्रिसो लगायतका कृषि जन्य सामग्री  यही भन्सार कार्यालय हुँदै भारत लगायत तेस्रो देश निर्यात हुन्छ भने भारतको पश्चिम बंगाल हुँदै नेपालमा आयात गरिएको पेट्रोलियम पदार्थ सहित कोइला, क्लिङकर, मोटरपार्ट, गार्मेन्ट लगायतका सामग्री पनि यही नाका हुँदै भित्रन्छन् । 

आर्थिक वर्ष २०७७/०७८ का लागि मेची भन्सार कार्यालयले १२ अर्ब ९ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । प्रत्येक महिना एक अर्ब भन्दा बढी राजश्व संकलन गर्दै आएको मेची भन्सार कार्यालयले  गत वर्ष आठ अर्ब ३५ करोड राजश्व संकलन गरेको थियो । १३ अरव २४ राजश्व संकलन गर्ने लक्ष्य लिएपनि कोरोना भाइरस कोभिड १९ का कारण राजश्व संकलनमा कमी आएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । 

भारतसंग सडक सञ्जालका माध्यमबाट सोझो सम्वन्ध राख्ने यो नाकामा आवत जावतका लागि अहिले एशियन हाइवे समेत जोडिएको छ । 

एशियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत यस्तो पहुँच विस्तार गरिएको हो । एशियन हाइवे अन्तरगत मेची नदीमा ७९० मिटर लम्बाइको पुल र सडक निर्माण भएसँंगै नेपालको पहुँच एशियन हाइवेसँंग जोडिएको हो । 

 नेपालको पूर्वी सीमाना भएर बग्ने मेची नदीमा एशियाली विकास बैंकको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैयाँको लागतमा मेची पुल निर्माणसँंगै काँकरभिट्टासम्म ‘एप्रोच रोड’ निर्माण भएको छ ।

 ६ लेनको पुल र सडक निर्माण भएसँंगै ‘ए क्लास’ को एशियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एशियन हाइवे एप्रोच रोड’ निर्माण गरिएको छ । यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन । 

भारतको पश्चिम बंगाल र नेपाल बीचमा ६ लेनको पुल र ६ लेनकै सडक निर्माण भएपछि भारत लगायत तेस्रो मुलुकसँंग स्थल मार्ग हुँदै गरिने व्यापारका लागि सहज हुने देखिएको छ । तर, कुनै पनि मुलुकको नाका भन्सार नियन्त्रित हुनु पर्ने भएपनि पूर्बी नाका काँकरभिट्टामा विस्तार भएको ६ लेनको सडक मेची भन्सार कार्यालय काँकरभिट्टाको नियन्त्रणमा नरहेको भन्सारकै कर्मचारीले बताएका छन् । भन्सार ऐन २०६४ को परिच्छेद २ मा भन्सार क्षेत्र तथा कार्यालय सम्वन्धि व्यवस्थामा भन्सार क्षेत्र तथा बाटो तोक्न सक्ने (१) भन्सार सम्वन्धि कानूनको प्रयोग गर्ने तथा यस ऐन बमोजिम भन्सार महसुल संकलन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कुनै पनि क्षेत्रलाई भन्सार क्षेत्रको रुपमा तोक्न सक्ने व्यस्था गरेको छ ।

 सोही व्यवस्था अनुसार मेची भन्सार कार्यालयको भन्सार परिसरमा ‘बेरियर’ हुनु पर्ने भएपनि एशियन हाइवे निर्माणका क्रममा त्यस सम्वन्धि चासो नदिँदा सडक क्षेत्र भन्सारको नियन्त्रणभन्दा बाहिर गएको छ । यस्तो अवस्थामा अबैध रुपमा चोरी पैठारी हुने, अबैध हात हतियार भित्रिने, लागू औषधको कारोवार सहज रुपमा हुन सक्ने भन्दै भन्सारका कर्मचारीले चिन्ता ब्यक्त गरेका छन् । 

भन्सारका एक उच्च अधिकारी भन्छन्– ‘ भन्सार क्षेत्रको सडक भन्सारको नियन्त्रणमा हुनु पर्छ तर एशियन हाइवे मेची भन्सारको नियन्त्रणमा छैन ।’ भन्सार क्षेत्र भन्सारको नियन्त्रणमा नहुँदा राजश्व छली तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने उनको भनाइ छ । नेपालको पूर्वी नाका काँकरभिट्टामा झण्डै डेढ किलोमिटर एशियन हाइवे निर्माण भएसँंगै धेरैले खुशीयाली मनाइ रहेका छन् । 

तर भन्सार क्षेत्र भन्सारको नियन्त्रण बाहिर रहँदा राजश्व छली, आपराधिक गतिविधि बढ्न सक्नेतर्फ भने कसैको ध्यान नगएको ती अधिकारीको भनाइ छ । उनी भन्छन् – भन्सार क्षेत्रलाई नियन्त्रण गर्न सक्ने गरी सडकमा दुवैतर्फ बेरियर हुनु पर्छ तर मेची भन्सार कार्यालयले अहिलेसम्म बेरियर राखेको छैन । यता मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुर्वराज विश्वकर्माले एशियन हाइवे र मेची भन्सारको संरचना नमिलेकाले समस्या उत्पन्न भएको बताउनु भएको छ । उहाँका अनुसार यात्रु शाखा उत्तरतर्फ छ, एशियन हाइवेले उत्तरतर्फ यात्रु शाखा नराख भन्छ । दक्षिणतर्फ राख्न स्थान अभाव छ, उत्तरतर्फ अन्य ठूला संरचना भएका कारण समस्या उत्पन्न भएको छ । 

सडक ठूलो भएका कारण भन्सार क्षेत्रको नियन्त्रण बाहिर जाने भन्दै भन्सार अधिकृत विश्वकर्माले चिन्ता ब्यक्त गर्नुभयो । त्यस विषयमा भन्सार विभागलाई जानकारी गराएर कर्मचारी थपका लागि माग गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार एशियन हाइवे ६ लेनको छ, यसले गर्दा ट्राफिक ब्यवस्थापनमा समेत समस्या हुने देखिएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार भन्सार कार्यालय पूर्ब कुनै पनि मानव बस्ती हुनु हुँदैन तर, मेची भन्सार कार्यालयको पूर्बतर्फ ठूलो मानव बस्ती रहेकाले भन्सार छली तथा चोरी पैठारी हुने भन्दै प्रमुख भन्सार अधिकृत विश्वकर्माले चिन्ता ब्यक्त गर्नुभयो । हाल निर्माण भएको मेची पुल र पुरानो मेची पुल मुनि खुला क्षेत्र भएकाले अबैध गतिविधि हुन सक्नेतर्फ प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुलाई यस विषयमा जानकारी गराई सकेको विश्वकर्माले बताउनु भयो ।

पूर्वीनाका काँकरभिट्टा हुँदै भारत लगायत तेस्रो देश निर्यात हुँदै आएको कृषि जन्य सामग्रीको निर्यात बढे पनि भुटान र बंगलादेशसँगको व्यापार घाटा बर्षेनि चुलिँदै गएको छ । 

बंगलादेश तथा भुटानको ट्रेड मेची भन्सार कार्यालयसँग मात्र रहे पनि निकासी र पैठारीमा सन्तुलन नहुँदा यी देशहरुसँगको व्यापार घाटा बढेको हो । नेपालको बंगलादेशसँग ११ प्रतिशत व्यापार घाटा भएको भन्सार कार्यालयको तथ्याङक छ । 

बंगलादेशसँग व्यापार गर्ने एकमात्र भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालयबाट वर्षेनि व्यापार घाटा बढेको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ४४ करोड व्यापार घाटा व्यहोरेको नेपालले गत आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्ब ९९ करोड व्यापार घाटा व्यहोरेको भन्सार अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । नेपालबाट कृषिजन्य वस्तु मात्र निर्यात हुनु र बंगलादेशबाट मोटरपाट्र्स लगायतका महँगा सामान नेपाल भित्रिनुले पनि व्यापार घाटा बढ्दै गएको हो ।

भुटानसँग एक प्रतिशत मात्रै कृषि वस्तु निर्यात गर्दै आएको नेपालले चालू आर्थिक वर्षको हालसम्म कुनै पनि वस्तु निर्यात गर्न नसकेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनु भयो । भुटानसँग पनि नेपालको व्यापार घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ९७ लाख ६२ हजार रुपैयाँ व्यापार घाटा भएको तथ्यांकमा उल्लेख गरिएको छ । भुटानबाट सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिङ्कर, जिप्सन र कोइलाको आयात बढ्दै गएकाले आर्थिक घाटा अझै बढेर जाने सम्भावना रहेको भन्सार अधिकृत विश्वकर्माले बताउनु भयो ।  


Views: 77