31st October | 2020 | Saturday | 9:26:23 PM

४० औं विश्व खाद्य दिवस : उत्कृष्ट २२ कृषक र अभियन्ता पुरस्कृत

  POSTED ON : कार्तिक १, २०७७ (९:२३ AM)

४० औं विश्व खाद्य दिवस : उत्कृष्ट २२ कृषक र अभियन्ता पुरस्कृत

काठमाडौं । ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ भन्ने नेपाली नाराका साथ विविध कार्यक्रम गरी ४० औं विश्व खाद्य दिवस साताव्यापीरूपमा मनाइएको छ । साताव्यापी कार्यक्रम समापनको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका कृषक तथा व्यवसायी पुरस्कृत भएका छन् । विगत वर्षमा ३६ वटा विधा गर्ने गरेकोमा कोरोनाका कारण गत वर्ष र यस वर्ष भने विभिन्न ६ वटा विधामा पुरस्कृत गरेको छ । विभिन्न विधाअन्तर्गत बिउ उत्पादन तथा वितरण, कृषि बजार व्यवस्थापन, मौरीपालनतर्फ एपिस मेलिफेरा र सेरेना मौरीपालन, प्रांगारिक खेती अभियन्ता र लेख रचना विधा गरी ६ वटा विधा रहेका छन् । बिउ उत्पादन तथा वितरणतर्फ सियान सिड सर्भिस काठमाडौंले प्रमथ पुरस्कार प्राप्त गरेको छ भने पवित्रा जनकल्याण सहकारी संस्था सुर्खेतले दोस्रो र राधाकृष्ण बिउ–विजन उत्पादक समूह रूपन्देहीले तेस्रो पुरस्कार प्राप्त गरेका छन् । उल्लिखित संस्थाहरूले क्रमशः १० हजार, ८ हजार र ६ हजार नगद पुरस्कार प्राप्त गरेका हुन् । त्यस्तै, कृषि उपज बजार व्यवस्थापनतर्फ कृषि उपज बजार व्यवस्थापन धरानले प्रथम पुरस्कार प्राप्त गरेको छ भने कृषि बजार व्यवस्थापन बिर्तामोडले दोस्रो र कृषि बजार व्यवस्थापन पोखराले तेस्रो पुरस्कार प्राप्त गरेको छ ।

त्यसैगरी, मेलिफेरा मौरीतर्फ दाङका कृषक विष्णुराज श्रेष्ठले प्रथम, दिपन चेपाङ मकवानपुर र वसन्तीकुरामारी अधिकारी सुर्खेतले तेस्रो पुरस्कार प्राप्त गर्नुभएको छ । सेरेना मौरीतर्फ क्रमशः टेकमान गुरुङ पोखरा, विशाल खड्का दोलखा र सुदर्शन लेखक वैतडीले पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै, दिगो कृषि अर्थात् प्रांगरिक अभियानतर्फ सातवटै प्रदेशका अभियन्ता पुरस्कृत भएका छन् । प्रदेश १ बाट तोयानाथ भट्टराई इलाम, प्रदेश २ बाट चौधरी चमार सिरहा, बागमती प्रदेशबाट गंगाराम सुवाल भक्तपुर, गण्डकी प्रदेशबाट तुलसीराम रेग्मी बाग्लुङ, लुम्बिनी प्रदेशबाट जानुका चौधरी बाँके, सुदूरपश्चिम प्रदेशबाट शक्तिबहादुर थापा र कर्णाली प्रदेशबाट खेमराज अवस्थी डडेल्धुरा पुरस्कृत हुनुभएको छ भने लेख रचनातर्फ नारायण गिरी, अरुण जिसी र ववीले बस्नेत पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले खाद्यबाली जीवनको अस्तित्वसँग जोडिएकोले संविधानले पनि आद्य अधिकार र खाद्य सम्प्रभूताको ग्यारेन्टी गरेको बताउनुभयो । उहाँले संविधानको मर्मअनुसार नै ऐनको तर्जुमा गरिएको र नियमावली पनि बन्ने क्रममा रहेको जानकारी दिनुभयो । उनले सबैले खाने, स्वास्थकर खान पाउने अधिकारको विषय संवैधानिक र राजनीतिक रूपमा सम्बोधन भए पनि अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । त्यसका लागि कृषि प्राविधिकले आफ्नो क्षेत्र मात्र नभई समग्र कृृषि क्षेत्र विकासको सोच राखेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । मन्त्री भुसालले उत्पादनमा मात्र जोड नदिई वितरणमा समेत उत्तिकै जोड दिनुपर्ने बताउनुभयो । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रासायनिक केमिकल हालेर धरै र ठूलो उत्पादन गर्नेतर्फ लाग्नाले कृषिलाई जंघारतिर धकेलिरहेको बताउनुभयो । बर्सेनि कृषि उपजको आयात उच्च हुने हो भने कृषिप्रधान भनेर चिनिने देशलाई कृषि उपज आयात गर्ने देश भनेर चिनिने भन्दै रासायनिक खेती गरेर पनि उत्पादन नबढकोले अब प्रांगरिकमै जोड दिनुपर्ने बताउनुभयो । कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले सबैको खाद्यको पहँुच पु¥याउन र दिगो विकासको लागि मन्त्रालयले कृषको वर्गीकरणको लागि आवश्यक काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामीले कृषकको वर्गीकरण गरेर सिस्टममा भौचर प्रणालीमार्फत सुविधा दिने योजना बनाएका छौं, सातै प्रदेशबाट किसानको तथ्यांक पनि माग गरिएको छ ।’ नेपालको कृषि अनुदानले नै बिग्रेको भन्दै सचिव भारीले अब कुनै लक्षित प्रोजेक्टबाहेक अन्यमा ५० प्रतिशतभन्दा बढी अनुदान नदिने गरी कार्यविधि बनाइन लागेको बताउनुभयो । कृषि विज्ञ डा. कृष्ण पौडेलले ४० आंै विश्व खाद्य दिवसको साताव्यापी अभियानले विद्यमान खाना र खेतीपाती प्रणालीलाई परिवर्तन गर्नुपर्ने विषयलाई थप उजागर गरेको बताउनुभयो । सो अवसरमा एफएओका प्रमुखले अडियो सन्देश पठाउँदै विश्वलाई कृषि र खाद्यको पुनरुद्धार आवश्यक रहेको बताउनुभयो । एफएओले किसानलाई सशक्त बनाउन बढी काम गरेको र विश्वव्यापी खाद्य सुरक्षाका लागि समाधान प्याकेजलाई बढावा दिएको उहाँको भनाइ छ । 

एफएओ नेपालका आवासीय प्रतिनिधिका सन्देश एफएओ नेपालका प्रतिनिधि डा. विनोद शाहीले पढेर सुनाउँदै विश्व खाद्य दिवस यस वर्ष कोभिड १९ ले खाद्य सुरक्षा र कृषि जीविकामा खतरनाक असर गरेकोले विश्वव्यापी सहयोग र ऐक्यबद्धताका लागि आहृवान गर्ने यो राम्रो अवसर रहेको बताउनुभयो । एफएओका अनुसार हाल विश्वको करिब २ अर्बभन्दा बढी जनसंख्याको सुरक्षित, पौष्टिक र पर्याप्त खानामा निरन्तर पहुँच छैन भने सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान रहेको छ । बहुआयामिक भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचांक २०१९ मा नेपाल विश्वका ११७ देशमध्ये ७३ औं स्थानमा रहेको छ । नेपालका करिब २० लाख जनसंख्या खाद्य असुरक्षित रहेका छन् तथा कोरोनाले झन् बढ्ने अनुमान गरिएको छ ।


Views: 228