31st October | 2020 | Saturday | 9:50:31 PM

बैंकहरूको स्थिर ब्याजदर १५ प्रतिशतसम्म

  POSTED ON : कार्तिक १, २०७७ (९:२५ AM)

बैंकहरूको स्थिर ब्याजदर १५ प्रतिशतसम्म

काठमाडौं । कात्तिक १ गते अर्थात् शनिबारदेखि घरजग्गा तथा गाडी कर्जामा स्थिर ब्याजदर कार्यान्वयनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ २८ गते एकीकृत निर्देशन जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थालाई कात्तिक १ गतेदेखि होम लोन, अटो लोन, हायर पर्चेज लगायतमा स्थिर ब्याजदर कार्यान्वयन गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले असोजभित्रै त्यस्तो ब्याजदर प्रकाशित गर्न र कात्तिक १ गतेदेखि लागू गर्न निर्देशन दिएकोमा सोहीअनुसार बैैंकहरूले ब्याजदर पनि सार्वजनिक गरेका छन् । विभिन्न बैंकहरूले विभिन्न समयावधिका लागि झण्डै न्यूनतम १० प्रतिशतदेखि १४ प्रतिशतम्म ब्याजदर तोेकेका छन् ।

माछापुच्छ«े बैंकले १० वर्षभन्दा बढी अवधिको घर कर्जाको ब्याजदर ११.८९ प्रतिशत तोकेको छ । ५ वर्षसम्मको घर कर्जाको ब्याजदर भने सो ९.८९ प्रतिशत हुनेछ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको १० वर्षसम्मको घर कर्जाको ब्याजदर १२ प्रतिशत रहेको छ भने एनएमबी बैंकले १५ वर्षसम्मको घर कर्जामा १२.२५ प्रतिशत ब्याज तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १० वर्षभन्दा बढी अवधिको घर कर्जाको स्थिर ब्याजदर १३.७५ प्रतिशत तोकेको छ भने ५ वर्षसम्मको १०.७५ प्रतिशत तोकेको छ । राष्ट्रिय वाणिज्य बैंकले १५ वर्षसम्मको घर कर्जाको ब्याज ११ प्रतिशत र नेपाल बैंकले ९.८५ प्रतिशत तोकेको छ । नेपाल एसबिआई बैंकले १० वर्षसम्मको घर कर्जामा १४ प्रतिशतसम्म तोकेको छ भने ग्लोबल आइएमई बैंकले १५ वर्षभन्दा बढी अवधिको घर कर्जामा वार्षिक ११.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंक अफ काठमाण्डूले १५ वर्षसम्मको घर कर्जामा ११.९८ प्रतिशत ब्याजदर तोकेको छ भने सनराइज बैंकले १५ वर्षसम्मको घर कर्जामा ११.५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, सेञ्चुरी बैंकले १० वर्षभन्दा बढीको घर कर्जामा १२.७४ प्रतिशत, प्राइम कमर्सियल बैंकले १२ प्रतिशत, नबिल बैंकले १५ वर्षसम्मको घरकर्जाको ब्याजदर ११ प्रतिशत तोकेको छ भने सानिमा बैंकले ३ वर्षभन्दा बढी अवधिको घर कर्जामा १३ प्रतिशत, सिद्धार्थ बैंकले १० वर्षभन्दा बढी अवधिको घर कर्जामा १०.७५ प्रतिशत तोकेको छ । कृिष विकास बैंकले १० वर्षभन्दा बढी अवधिको कर्जामा ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने नेपाल बंगलादेश बैंकले २० वर्षसम्मको घर कर्जामा ११.४९ प्रतिशत निर्धारण गरेको छ । 

निश्चित आम्दानी भएका वर्गलाई राहत दिन भन्दै राष्ट्र बैंकले स्थिर ब्याजदर नीति परीक्षणका रूपमा अघि सारेको हो । राष्ट्र बैंकका अनुसार ब्याजदरमा स्थिरता आओस्, निश्चित कमाई हुने वर्गले घर र गाडी किन्दा ब्याजदर उतारचढावको जोखिम भोग्नु नपरोस् भनेर स्थिर ब्याजदर अघि सारिएको हो । नेपालमा निक्षेपको स्रोत सीमित भएकाले ब्याजदरमा उतारचढाव आइरहेको भन्दै त्यस्तो सीमितताको विकल्पका रूपमा डिबेञ्जरलगायत दीर्घकालीन स्रोतको खोजीमा बैंकहरू प्रेरित हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । स्थिर ब्याजदरले तत्कालै ठूलो मात्रामा ऋणी आकर्षित नभए पनि क्रमिक रूपमा आकर्षण बढ्दै जाने बताइएको छ । 


Views: 46