28th October | 2020 | Wednesday | 11:22:48 PM

खसी–बोका बिक्री सोमबारबाट हुने

  POSTED ON : कार्तिक १, २०७७ (९:२८ AM)

खसी–बोका बिक्री सोमबारबाट हुने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ (सोमबार) देखि काठमाडौं उपत्यकामा खसी–बोका बिक्री सुरु गर्ने भएको छ । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दसैँका लागि खसी–बोका बिक्री वितरणको काम सुरु हुने भएको हो । कम्पनीले बजारमूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ । यस्तै, दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्नीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताउनुभयो । यस वर्ष तुल्सीपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उहाँले बताउनुभयो ।

कम्पनीले यसअघि दसैंका लागि एक हजार वटा खसी–बोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गर्ने बताएको थियो । तर, कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको बताउनुभयो । पहिलो चरणमा एक हजार संख्यामा खसी–बोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताउनुभयो ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताउनुभयो । मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने पनि उहाँको भनाइ छ । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो । उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेका थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । 

दसैँका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । दसैँलाई लक्षित गरेर निजी व्यवसायीहरूले समेत गाउँ–गाउँमा गएर खसी–बोका खरिद गरेर बजारमा ल्याउन सुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसी–बोका र च्याङ्ग्रा आयात हुने गर्छ ।


Views: 24