29th November | 2020 | Sunday | 4:32:15 PM

खाद्यका सबै खसीबोका बिक्री

लेखनाथ पोखरेल   POSTED ON : कार्तिक ५, २०७७ (७:५४ AM)

खाद्यका सबै खसीबोका बिक्री

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सबै खसीबोका बिक्री भएका छन् । पहिलो दिनमै अधिकांश खसीबोका बिक्री भएका थिए । कम्पनीले सोमबारदेखि खसीबोका बिक्री सुरु गरेकोमा पहिलो दिनमै ५५० वटा खसीबोका बिक्री भएका थिए भने बाँकी रहेका करिब २४० वटा खसीबोका मंगलबार बिक्री भएको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभएको छ । बुधबार भने खसीबोका आएपछि मात्रै दिउँसो २ बजेदेखि बिक्री सुरु गरिने उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई दिनमै सबै खसीबोका बिक्री भइसके, १०–१५ वटा मात्रै बाँकी होलान्, अब अरू खसीबोका पनि आएपछि मात्रै बिक्री सुरु हुनेछ, बुधबार २ बजदेखि बिक्री सुरु हुनेछ ।’ खनालका अनुुसार सोमबारसम्म ६ सय ५ खसीबोका भित्रिएकोमा मंगलबार थप २ सय भित्रिएका थिए । सोमबार दाङबाट थप २ सय खसीबोका भित्रिएका हुन् । आइतबार दाङ र हेटौँडा गरी ४ सय ५ खसीबोका भित्रिएका थिए । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि हरेक दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । तर, यसवर्ष अत्यधिक मूल्यका कारण कम्पनीले च्याङ्ग्रा भने ल्याउन सकेन । स्रोत बजारमै च्याङ्ग्रा अधिक महँगो रहेको र सहजरूपमा उपलब्ध पनि हुन नसकेकोले च्याङ्ग्रा ल्याउन नसकिएको खनालको भनाइ छ ।

खाद्यले बिक्री गर्ने जिउँदो खसीबोकाको बिक्री मूल्य ५ सय ६० रुपैयाँ रहेको छ भने उक्त मूल्यमा सरकारले प्रतिकेजी १० रुपैयाँ छुट प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले सोही मूल्यमै खसीबोका बिक्री गरेको थियो । कम्पनीले यसवर्ष १ हजार ४ सय खसीबोका बिक्री गर्दैछ । कोरोनाका कारण माग घट्ने अनुमानका आधारमा कम्पनीले थोरै खसीबोका ल्याउने निर्णय गरेको थियो । तर, हालसम्मको बिक्री अवस्थाले विगत वर्षभन्दा माग बढ्ने संकेत गरेको छ । 

यसवर्ष कोरोनाका कारण मासुको माग घट्ने २५ हजारदेखि ३० हजार खसीबोकाले काठमाडौंलाई पुग्ने पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले दाबी गर्नुभएको छ । शर्माका अनुसार विगत वर्षहरूमा दशैँमा ४० हजार खसीबोकाको माग हुने गरेको थियो । मागभन्दा आपूर्ति बढी हुने भएकोले दशैँमा मासुको मूल्य नबढ्ने पनि उहाँको दाबी छ । शर्माले देशैभरका लागि १ लाख ४० हजार खसीबोका आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । नेपाल व्यावसायिक बाख्रापालक महासंघले काठमाडौं उपत्यकामा ४६ हजार खसीबोका आपूर्ति गर्नेछ भने हेफर इन्टरनेशनल नेपालले देशैभर ४६ हजार ४ सय ७४ खसीबोका आपूर्तिको कार्ययोजना तयार गरेको थियो । उहाँले खाद्य तथा निजी क्षेत्रले बिक्री गर्ने सबै खसीबोका स्वास्थ्य रहेको पनि उहाँले जानकारी दिनुभएको छ । सबै खसीबोका स्वदेशकै भएकोले हालसम्म रोगको समस्या नदेखिएको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अनुगमनका लागि विभिन्न ठाउँमा पशु स्वस्थकर्मीको टोली परिचालन गरेका छौं, बुधबार साँझसम्म त्यस्तो कुनै जानकारी आएको छैन, स्वास्थ्य प्रमाणपत्र भएका खसीबोका मात्रै भिœयाउने व्यवस्था मिलाइएकोले पनि समस्या नआएको हुनसक्छ ।’ 

शर्माका अनुसार चाडपर्व लक्षित पशुपन्छी, पशुपन्छीजन्य उत्पादन आपूर्ति, बजार अनुगमनका लागि ३८ जना जनशक्ति परिचालन गरिएको छ, जसमा ४ जना वरिष्ठ पशु चिकित्सक एव वरिष्ठ अधिकृत रहेका छन् भने २० जना पशु चिकित्सक १४ जना प्राविधिक जनशक्ति रहेका छन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रको सहकार्यमा बजार अनुगमनमा प्राप्त पशुपन्छी, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन तथा माछा पसलमा बिक्रीका लागि राखिएका माछाको नमुनालाई परीक्षण गरी रोगी पशु बिक्रीमा रोक लगाइनेछ । पशु सेवा विभाग, महानगरपालिका, नगरपालिका, तथा सुरक्षा निकायको समन्वय सहकार्यमा कात्तिक १ गतेदेखि ९ गतेसम्म दक्षिणकाली नाका, बालाजु बाइपास एवं साँगा नाकामा आवश्यकताअनुसार अस्थायी पशु क्वारेन्टाइन स्थापना गर्न र आवश्यक कार्यका लागि टोली परिचालन गरिएको छ । कलंकी खसी बजार र बल्खु माछा बजार, चाल्नाखेल राँगा बजार, टुकुचा खसीबजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघरी खसीबजार, बालाजु बाइपास नाका, नाकामा होल्डिङ तथा संकलन भएका पशुपन्छीको स्वास्थ्य परीक्षण गरिनेछ । राँगाभैँसी, खसीबोका नाका र बजारमा पशुस्वास्थ्यकर्मी उपलब्ध गराई क्लिनिकल परीक्षण सेवा उपलब्ध गराउने, स्वस्थ पशुलाई हरियो रंग र रोगी पशुलाई रातो रङले संकेत गर्ने व्यवस्था मिलाउने, रोगी पशुको उपचारको व्यवस्था गर्ने, आवश्यकताअनुसार रोग निदानका लागि नमुना संकलनको व्यवस्था पनि गरिएको छ ।


Views: 51