29th November | 2020 | Sunday | 4:57:54 PM

अर्थतन्त्रमा कोरोना असरबारे चिन्ता

  POSTED ON : कार्तिक ५, २०७७ (७:५५ AM)

अर्थतन्त्रमा कोरोना असरबारे चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंक समूहको संयुक्त वार्षिक बैठकमा सहभागी हुनुभएको छ । गभर्नर अधिकारीले सन् २०२० अक्टोबर १२ देखि १८ सम्म आयोजित वार्षिक बैठकमा सहभागिता जनाउनुभएको हो । सो अवसरमा गभर्नर अधिकारीले अक्टोबर १३ मा आइएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर ताओ झाङसँग कोरोनाका कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवं त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका विषयमा छलफल गर्नुभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । साथै कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको विषयमा समेत उहाँले चर्चा गर्नुभयो । सोही दिन उहाँले अन्तर्राष्ट्रिय वित्त निगम –आइएफ्सी) को एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट अन्फोन्स गारिका मोरासँग पनि छलफल गर्नुभएको थियो । सो अवसरमा मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी, डेभलपमेण्ट पोलिसी क्रेडिट (डिपिसी), स्वदेशी मुद्रामा बण्ड जारी गर्ने लगायतका विषयमा चासो प्रकट गर्नुभएको बताइएको छ । अक्टोबर १५ मा आयोजित प्लेनरी सेसन–टोरन्टो सेन्टर राउण्ड टेवल डिस्कसनमा समेत सहभागिता जनाउनुभएको थियो । त्यसैगरी, गभर्नर अधिकारीसँग अक्टोबर १६ को भर्चुअल साइड मिटिङमा आइएमएफका साउथ इष्ट एसिया भोटिङ ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अलिसारा महासाण्डाना–अल्टरनेटिभ एक्जुकेटिभ डाइरेक्टर केङ हेङ तानले विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोनाका कारण नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा परेको असरबारे जानकारी गराउनुभएको थियो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवं प्रवक्ता डा.गुणाकर भट्टले आइएमएफको मोनिटरी एण्ड क्यापिटल मार्केट डिपार्टमेन्टको भर्चुअल बैठकमा सहभागिता जनाउनुभएको थियो । विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको बताइएको छ । बैठकका क्रममा एसिया प्यासिफिक डिपार्टमेण्टले रेजिनल इकोनोमिक आउलुक सार्वजनिकसमेत गरेको थियो । बैठकमा गभर्नरको कार्यालयका कामु निर्देशक नारायणप्रसाद पोखरेल र उपनिर्देशक डम्बर सुवेदीको समेत सहभागिता रहेको राष्ट्र बैंकले जनाएको छ ।

दशैँमा बैंक पनि बन्द हुने

यसवर्ष बडादशैं बिदामा बैंकसमेत बन्द हुने भएको छ । कोरोना संक्रमणका कारण ३ हजार ७ सयभन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भएसँगै नेपाल बैंकर्स संघले बडादशैंको बिदामा बैंकको शाखा खुला गर्न नसकिने जनाएको हो । संघले कात्तिक ७ गते सप्तमी अर्थात् फूलपातीदेखि कात्तिक ११ गते अर्थात् एकादशीसम्म बैंकका सबै शाखा बन्द हुने संघले जनाएको छ । सो अवधिमा ग्राहकले डिजिटल बैंकिङ सेवाबाट भने बैंकिङ सेवा उपभोग गर्न सक्नेछन् भने एटिएम सेवा पनि सुचारु नै रहनेछन् । कोरोना संक्रमणपछि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने व्यवस्था गरेको छ । संघले कोरोना संक्रमणबाट बच्न र जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम सदुपयोग गर्न आग्रह गरेको छ । गत वर्ष भने सबै बैंकले दशैँको बिदामा पनि निश्चित शाखा तोकेर सेवा दिँदै प्रदान गरेका थिए । 


Views: 66