5th December | 2020 | Saturday | 10:41:50 AM

निजगढ विमानस्थलको वैकल्पिक प्रस्ताव

हिमालय टाइम्स   POSTED ON : कार्तिक १६, २०७७ (९:५३ AM)

निजगढ विमानस्थलको वैकल्पिक प्रस्ताव

  • भूमिका

देशका लागि ड्रिम प्रोजेक्ट एवं गेम चेञ्जरका रूपमा प्रचारित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय अहिले विवादको भुँमरीमा छ । त्यसका मुख्य तीन कारण छन्, 

१ : चारकोशे झाडीको महत्वपूर्ण भाग फाँडेर विमानस्थल बनाउने योजना, 

२ : आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र गुरुयोजना (मास्टर प्लान) नै तयार नगरी गरिएको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन र सोही अध्ययन प्रतिवेदनलाई वन तथा वातावरण मन्त्रालयले दिएको स्वीकृति र 

३ : तीन करोड जनसंख्या नभएको देशमा एसियाकै ठूलोमध्येको विमानस्थल बनाउन खोज्नुको उद्देश्य र औचित्य, त्यो पनि ऋणमा । 

निजगढ विमानस्थलको विषयमा सरकार र नागरिक अभियन्ताहरूबीच करिब दुई वर्ष चलेको विवाद अन्तमा अदालत पुग्यो । २०७६ सालमा सर्वोच्च अदालतमा दुईटा मुद्दा दर्ता भए । अदालतले अन्तिम फैसला नआउञ्जेलसम्मका लागि सबै कामकारबाही रोक्न सरकारलाई आदेश दिएको छ र मुद्दा अहिले विचाराधीन छ । 

आवश्यकता कि विलासिता ?

नेपालबाट सोझै विदेश यात्रा गर्न सकिने भएदेखि नै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल रहेको छ । देशमा आर्थिक गतिविधि बढ्न थालेपछि अन्तर्राष्ट्रियस्तरको अर्को विमानस्थल चाहिने देखियो र २०५२ सालमा निजगढको कुरा अघि बढ्यो । हाल भैरहवा र पोखरामा अन्तर्राष्ट्रियस्तरका विमानस्थल बनिसकेका छन् । विराटनगर विमानस्थललाई पनि अन्तर्राष्ट्रियस्तरको बनाउन विराटनगर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारबीच सहमति भइसकेको छ ।

अन्यप्रदेशहरू पनि कम्तीमा एक–एकवटा अन्तर्राष्ट्रियस्तरका विमानस्थल बनाउने योजनामा छन् । त्यसका लागि प्रदेश नं. २ ले जनकपुर विमानस्थललाई विस्तार गर्न खोजिँदै छ भने कर्णालीले सुर्खेत र सुदूरपश्चिमले धनगढी विमानस्थललाई विस्तार गर्दै छन् । नेपालगञ्ज र भद्रपुर विमानस्थललाई पनि अन्तर्राष्ट्रियस्तरको बनाउने योजना छ । उक्त परिवेशमा ८ हजार ४५ हेक्टर क्षेत्रफलको घनाजंगल क्षेत्रमा करिब १० खरब रुपैयाँ खर्चेर विमानस्थल बनाउने योजना अब आवश्यकता रहेन, केवल बिलासिता मात्र । 

त्यसैले निजगढलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभई भैरहवा, पोखरा जस्ता अहिले बनिसकेका र भोलि बन्ने विमानस्थलसमेतको पूरक विमानस्थल बनाउने सोच बनाउन जरुरी छ । यदि आवश्यकतामा आधारित विकल्पमा जाने हो भने वैकल्पिक स्थलसमेत निजगढ क्षेत्रमै उपलब्ध हुनसक्छ ।

वैकल्पिक स्थल निजगढमै ?

अन्तर्राष्ट्रियस्तरका विभिन्न विमानस्थलको आकार प्रकारको अध्ययन गर्दा धावनमार्ग, पार्किङ, हृयांगर, हेन्डलिङ, टावर, कार्यालय आदि संरचनाका लागि जम्मा ९ सयदेखि १ हजार ५ सय हेक्टर क्षेत्रफल आवश्यक पर्छ । सरकारले पनि हाल प्रारम्भिक चरणका लागि भनी १ हजार ३ सय हेक्टर क्षेत्रफलको योजना अघि सारेको छ । यदि सुरुवाती चरणका लागि अहिले प्रस्ताव गरिएको क्षेत्र अर्थात् टांगिया बस्तीबाट २.४५ किलोमिटर दक्षिण सारेर विमानस्थल बनाउन सकिन्छ । 

भौगोलिक सूचना प्रणाली (जीआईएस) प्रविधि प्रयोग गरेर विभिन्न क्षेत्रका विज्ञहरू संलग्न अध्ययनले जंगलको दक्षिणतर्फ ३ सय ५६ हेक्टर अतिक्रमित वन क्षेत्र, जडिबुटी क्षेत्रको ३ सय ८२ हेक्टर जग्गा, सो क्षेत्रवरिपरिको १ हजार ३० हेक्टर निजी जग्गा अधिग्रहण गर्दा करिब १ हजार ८ सय ७ हेक्टर क्षेत्रफलको जग्गा उपलब्ध हुन्छ । त्यसपछि नपुग हुने १ सय ९३ हेक्टर क्षेत्रमात्र घनाजंगलबाट लिनुपर्छ । यसबाट १ हजार ९ सय ६१ हेक्टर क्षेत्रफल उपलब्ध हुनसक्ने देखिन्छ । तलको नक्साको तल्लो भागमा सोही तथ्य प्रस्तुत छ । 


 नक्सा :  वैकल्पिक स्थल, निजगढ

हामीले हेक्का राख्नुपर्छ कि बेलायतको हिथ्रो, दिल्लीको इन्दिरा गान्धीजस्ता संसारका अति नै व्यस्त एयरपोर्टहरू पनि ९ सयदेखि १ हजार ५ सय हेक्टरमा सफलतापूर्वक सञ्चालित छन् । 

विकल्पमा गए सबैको जित

माथिको नक्सामा देखाइएको विकल्पमा जाँदा सबैको जित हुन्छ, देशकै भलो हुन्छ । जंगल क्षेत्रमा विमानस्थल बनाउनै हुन्न भन्ने र जसरी पनि बनाइछाड्छौं भनेर अड्डी कसेर बसेका सबैको जित हुन्छ । त्यसो गर्दा हुने फाइदाका सम्बन्धमा तल चर्चा गरिएको छ :-

वन तथा वन्यजन्तु 

काट्न भनी प्रस्ताव गरिएका २५ लाख रूख (यथार्थमा ठूलासाना गरी करिब नौ  करोड रूख) मध्ये अधिकांश रूख बचाउन सकिन्छ ।  त्यसबाट ४ सय वर्ष पुराना सखुवा जातका अधिकांश रूख बचाउन सकिन्छ । प्रस्तावित क्षेत्रबाट २.४५ किलोमिटरमात्र दक्षिणतर्फ सार्दा उत्तरतर्फको ६ किलोमिटर चौडाइको जंगल बच्छ र पर्सा वन्यजन्तु आरक्षका जनावरका साथै थोरै संख्यामा रहेका एसियाटिक प्रजातिको हात्ती निर्वाध हिँडडुल गर्न पाउँछन् । नेपालको पूर्वी र पश्चिम भागका हात्तीले भेटघाट र समागम गर्न पाउँछन् । त्यसबाट हात्तीको संख्या कायम गर्न र संरक्षण गर्न सकिन्छ ।

जलस्रोत र जीविकोपार्जन 

लालबकैया र पसाहाजस्ता ठूला नदी र नौवटा जरुवाखोला एवं पानीका धेरै मुहानहरू जोगिन्छन् । करिब ७० हजार घरधुरीको खानेपानी तथा सिँचाइको स्रोत यथावत् रहन्छ । यी खोलाहरूबाट तल्लो भागमा सञ्चालित ६ वटा सिँचाइ आयोजना र प्रधानमन्त्री कृषि विशेष कार्यक्रमअन्तर्गतका करिब ४ हजार माछा पोखरी बचाउन सकिन्छ । हालदेशको ३० प्रतिशत माछाको माग आपूर्ति गरिरहेको माछापालनको विशेष क्षेत्रलाई अझै प्रवद्र्धन गर्न सकिन्छ । साथै अहिले प्रस्ताव गरेको स्थलमा भौतिक संरचना बनाउँदा आउने बाढीको प्रकोपमा उल्लेखनीय कमी आउँछ ।

त्रिभुवन विमानस्थल यथावत् चल्छ 

यदि अहिलेकै योजनानुसार निजगढ विमानस्थल बनाउने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई घरेलु उडानका लागि मात्र सीमित गर्ने पूर्वसर्त नै छ । नभए निजगढको लगानी उठ्ने र फाइदा हुने कुनै सम्भावनै छैन । त्यसबाट काठमाडौंको एयरपोर्टबाट यात्रा गर्ने कि पोखरा वा भैरहवा वा निजगढ एयरपोर्टबाट यात्रा गर्ने भनेर यात्रुले छान्न पाउने अर्थात् छनोटको अधिकार खुम्चिन्छ । विकल्पमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई घरेलु विमानस्थल बनाउनु पर्दैन । काठमाडौं गन्तव्य भएका यात्रुले निजगढदेखि काठमाडौंसम्मको घण्टौं लाग्ने सडक यातायात प्रयोग गर्नुु पर्दैन । 

लगानी र सार्वभौमसत्ता 

आफ्नै लगानी र देशको क्षमताले धान्ने विमानस्थल बनाउँदा ३०÷३० वर्षसम्म देशको संवेदनशील क्षेत्र विदेशीको जिम्मामा दिनु पर्दैन । ठूलो आकारको लगानी (करिब १० खर्ब रुपैयाँ) चाहिने भएकाले नेपाल आफैँले सक्दैन, कोही आइदेला कि भनेर कुर्नुपर्ने बाध्यता रहन्न । निजगढ देशले बोक्नै नसक्ने भारी बोकाएर बनाएको श्रीलंकाको मताला विमानस्थल जस्तो सेतो हात्ती बन्ने जोखिम घट्छ ।

सधैं ठूल्ठूला संरचनाभन्दा नेपालजस्तो थोरै जनसंख्या भएको धेरै कुरामा छिमेकीको भर पर्नुपर्ने देशका लागि ‘स्मल इज ब्युटिफुल’ विकासको उपयुक्त मोडल बन्नसक्छ र दिगो हुन्छ । कुरा सुन्दा उत्तम तर कार्यान्वयन खत्तम रहेको मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर अहिलेका पर्यटनमन्त्रीले भने जस्तो नेपालले आफैँ बनाउन सक्छ । पूर्वाधार विकासका क्षेत्रमा सहयोग गरिरहेका एशियाली विकास बैंकजस्ता निकायबाट पनि लगानी जुटाउन सकिन्छ । 

स्रोतको दुरुपयोगमा कमी 

एयरपोर्ट सिटीका नाममा हुने वन फँडानी र जग्गा दलाली दुवै बन्द हुन्छ । ७ हजार हेक्टरको जंगल सखाप पारेर निहीत स्वार्थसिद्धिमा लागिपरेका वर्गले जथाभावी गर्न पाउँदैन र स्रोतको दुरुपयोगमा कमी आउन सक्छ । 

निष्कर्ष 

सरकारले बनाउन आँटेको स्थलभन्दा दक्षिण गएरमाथि प्रस्तावित स्थलमा बनाउँदा सबैको भलो हुन्छ । जुरिच इन्टरनेसनलले छोडेपछि निजगढ विमानस्थल नेपालले आफ्नै लगानीमा बनाउँछ भनेर बोलेको वचन पूरा गरेर देखाउने मौका पनि पाइन्छ, बन्छ–बन्दैन भन्ने आशंका हट्छ । अन्योलका बीच खेल्ने बानी परेका तत्वहरूको खेल सकिन्छ र देशले एउटा वैकल्पिक विमानस्थल पाउन सक्छ । फलतः वन, वन्यजन्तु, वातावरणीय सेवा, जलभण्डार आदिको विनाश, वातावरणीय प्रभाव मूल्यांकनको गुणस्तर जस्ता विषयलाई लिएर हालिएका मुद्दा, अदालतको आदेश र विवाद समाधान हुनसक्छन् । 



Views: 1950