6th December | 2020 | Sunday | 3:31:04 AM

महासंघका उम्मेदवारबीच आरोप-प्रत्यारोप

हिमालय टाइम्स   POSTED ON : मंसिर ४, २०७७ (६:४७ PM)

महासंघका उम्मेदवारबीच आरोप-प्रत्यारोप

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उम्मद्वारबीच चर्को आरोप प्रत्यारोप सुरु भएको छ । महासंघको चुनाव नजिकिँदै जाँदा चुनाव प्रचार प्रसार अभियानका क्रममा एक पक्षले अर्को पक्षमाथि आरोप लगाउने क्रम बढेर गएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितको टोली प्रचार प्रसार अभियानकै क्रममा बिहीबार नेपालगंज पुगेको छ । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले हुनेवाला अध्यक्षले चाहेको समूहलाई निर्वाचन जिताउन आग्रह गर्नुभयो ।

उहाँले आगामी अध्यक्ष शेखर गोल्छालाई काम गर्न दिन्न भनेर पूर्व अध्यक्ष चण्डीराज ढकालले विधानविपरितको बोली बोलेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो ‘शेखर गोल्छाले के अपराध गरेका छन् र हटाउँछु भनेर धम्की दिइन्छ ? पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष बन्ने विधानअनुसार मतदान गरेर जिताएका मतदाताको अपमान हुने गरी अहिले अध्यक्षका रुपमा काम गर्न दिन्न भनेर धम्क्याउने काम राम्रो होइन ।’ महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेको गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको बताउनुभयो । सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्व अध्यक्षलाई पनि देखाएर पारित गराउने र देशैभरका उद्योगी व्यवसायीका एजेण्डा एउटै बनाउने अभियानमा गोल्छा लागेका कारण आफूले सहयोग गरेको उहाँको भनाइ छ ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफू करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताउनुभयो । करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसदपछिको वरियता दिलाउन  लविङ गर्ने दाबी गर्नुभयो । जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठले उद्योगी र व्यवसायीहरु बैंकबाट ठगिने गरेको भन्दै बैंकहरुविरुद्ध लड्ने बताउनुभयो । खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ‘धुर्बे हात्ती’ को आरोप लगाउनुभयो ।  ध्रुबे हात्तीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने र वर्षौसम्म महासंघमा सेवा गरेका बाहिरिनुपर्ने बाध्यतालाई अब चिर्नुपर्ने उहाँको भनाइ छ  । मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदैछ ।

Views: 63