6th December | 2020 | Sunday | 4:44:03 AM

‘फल्स चेम्बर’ बनाएर तेल चोरी–थप अनुसन्धान गरिदिन सिआइबीलाई आग्रह

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७७ (११:३० AM)

‘फल्स चेम्बर’ बनाएर तेल चोरी–थप अनुसन्धान गरिदिन सिआइबीलाई आग्रह

काठमाडौं । नेपाल आयल निगमले फल्स चेम्बर बनाउने पेट्रोलियम ट्यांकर सञ्चालकहरूमाथि कारबाहीको प्रक्रिया थालेको छ । त्यस्ता ट्यांकर सञ्चालकलाई १५ लाखको दरले जरिवाना तिराउने प्रक्रिया अगाडि बढाइसकिएको र अन्य थप कारबाही पनि अगाडि बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मंसिर ३ गते निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा इण्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिएको २०–२० हजार लिटर क्षमताको वीर बेताल आशीर्वाद कम्पनी प्रा.लि. (सञ्चालकहरू प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार)का नाममा रहेको दुई वटा ट्यांकर ना७ख ३६९६ र ना७ख २९९५ लाई डिपोमा कार्यरत कर्मचारीहरूबाट खाली गरी चेकजाँच गर्दा ती ट्यांकरमा रहेको चेम्बरको स्वीकृत मापदण्डविपरीत थप अर्को फल्स चेम्बर बनाई जडान गरेको पाइएको थियो ।

फल्स चेम्बर जडान भएको पुष्टि भएपछि निगमले प्रचलित विनियमावलीबमोजिम हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा करिब १५ लाख बराबरको हर्जना तिराउने कार्य अगाडि बढाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पेट्रोल ढुवानी गर्ने ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगमले थप अनुसन्धान गरिदिन नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुरोध गरेको छ । 

निगमले सिआइबीलाई पत्राचार गर्दै चोरी गर्ने कार्यमा अन्य व्यक्तिहरू सांगठनिक अपराधमा संलग्न हुनसक्ने सम्भावना रहेको जनाउँदै अनुसन्धान र कारबाही गरिदिन अनुरोध गरेको हो । ‘स्वीकृत मापदण्ड बाहेकको फिटिङ्स जडान (फल्स चेम्बर) बनाई इन्धन चोरी गरेको तथ्य फेला परेको हुनाले चोरी गर्ने कार्यमा अन्य व्यक्तिहरू संगठित अपराधमा संलग्न हुनसक्ने सम्भावना देखिन्छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ गरी नेपाल प्रहरी, प्रधान कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘थप अनुसन्धान गरी दोषीउपर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइदिनु हुन सादर अनुरोध गर्दछु ।’


Views: 59