22nd January | 2021 | Friday | 1:15:41 PM

स्वदेश फर्किएर भैंसीपालन, महिनामै एकलाख आम्दानी

प्रकाश मैनाली   POSTED ON : पुष २७, २०७७ (८:५९ AM)

स्वदेश फर्किएर भैंसीपालन, महिनामै एकलाख आम्दानी

सर्लाही । १० वर्ष वैदेशिक रोजगारीमा रहेर फर्किनुभएका सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाउनुभएको छ । कृषि विकास बैंक हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि दुई वर्षअघिदेखि भैँसीपालन सुरु गर्नुभएका महतो राम्रो आम्दानी हुन थालेपछि दंग हुनुहुन्छ । ३२ वर्षीय महतो आफैंले भैँसी पालेर दूध बेच्दै आउनुभएको छ भने घरमै दूध संकलन केन्द्र खोली दूध खरिद गरिदिँदा गाउँका किसान पनि खुशी भएका छन् । विदेशबाट फर्किएपछि आफूले कमाएको पैसाले गोठ निर्माण गरी कर्जा माग्न बैंकमा पुग्नुभएका महतोलाई बैंकले सजिलै कर्जा दियो । महतो भन्नुहुन्छ, ‘म १० वर्ष कतार र मलेसिया बसेर फर्किएको हुँ, गाउँमा आएपछि अब यहीँ भैँसीपालन गर्ने सोच बनाएर गोठ निर्माण गरेँ तर कमाएको पैसाले गोठ बनाउन मात्रै पुग्यो, भैँसी किन्ने पैसा भएन, बैंक गएर कुरा राखेपछि बैंकका कर्मचारीले आएर हेर्नासाथ कर्जा दिनुभयो, त्यही कर्जाले जीवन नै बदलिएको छ ।’

महतोको गोठमा अहिले साना ठूला गरी १९ वटा भैँसी छन् । गाउँका किसानबाट उहाँले दैनिक साँढे चार सयदेखि पाँच सय लिटर दूध खरिद गर्दै आउनुभएको छ । आफ्नै गोठ र गाउँका किसानबाट उठाएको दूध महतो आफंैले हरिवन बजारमा खोल्नुभएको डेरीबाट सजिलै बिक्री हुन्छ । दूध संकलन गर्ने क्रममा दुधमा पानी हाले÷नहालेको पत्ता लगाउने मेसिनसमेत जडान गरेकोले महतोले बजार पु¥याउने दूध ग्राहकले पनि असाध्य रुचाउने गरेका छन् । सतनकुमारले घरमै दूध चिस्यान मेसिनसमेत राख्नुभएको छ । विदेशमा रहँदै भैँसीपालन गर्ने सोच बनाउनुभएका महतोले आफ्नै भाइलाई जेटिए पढाएकोले पशु प्राविधिकको समस्या पनि छैन । 

महतो भन्नुहुन्छ, ‘विदेशमा बस्दै भाई रामप्रवोधलाई जेटिए पढाएको थिए, अहिले उसैले भैँसीको हेरविचार गर्छ, बुबाआमा र श्रीमतीले पनि साथ दिइरहनुभएको छ, सबै मिलेर काम गरेको राम्रो आम्दानी भइरहेको छ, महिनामा झण्डै एक लाख आम्दानी हुन्छ ।’

सहुलियत कर्जामा ५ प्रतिशत सरकार आफैँले ब्याज तिरिदिने गरेको छ भने किसानले चार प्रतिशतमात्रै तिर्नुपर्छ । कृषि विकास बैंक हरिवन शाखाका प्रवन्धक शैलेन्द्र घिमिरेले महतो र उहाँका परिवारले अत्यन्त मिहिनेत गरेर लोभलाग्दो किसिमले भैँसीपालन गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘गोठ निर्माण गर्दा नै उहाँको मिहिनेत र लगाव देखेर हामीले ऋण प्रवाह गरेका हौं, बैंकले कर्जा प्रवाह गरेको मध्येकै मनग्य आम्दानी पनि गरिरहेको भएको छ ।’ रोजगारीबाट फर्किएका युवालाई सरकारले बजेटमा उल्लेख गरेको र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार कृषि विकास बैंकमार्फत सहुलियत कर्जा प्रदान गरिरहेको प्रवन्धक घिमिरले बताउनुभयो । उहाँले भैँसीपालन, गाईपालन, तरकारीखेती, दूध डेरी, बाख्रपालना, बँगुरपालन लगायतमा क्षेत्रमा बैंकले लगानी गरिरहेको जानकारी दिनुभयो । 


Views: 46