27th January | 2021 | Wednesday | 7:36:13 PM

सहकारीका समस्या समाधानमा जोड

  POSTED ON : पुष २८, २०७७ (८:०७ AM)

सहकारीका समस्या समाधानमा जोड

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रूपमा रहेको भन्दै सहकारी क्षेत्रमा समस्या एउटै राउण्ड टेबलमा बसेर हल गर्न चाहेको बताउनुभएको छ । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी अभियानले गुनासो गर्न छाडेर गर्नुपर्ने काममा शतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभएको छ  ।  राष्ट्रिय सहकारी महासंघको सोमबार भएको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पौडलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर सबैसहित सहकारी अभियन्ताको राउण्ड टेबल कार्यक्रम गरेर सहकारीलाई अघि बढ्न बाधा परेका सबै समस्यालाई एकै ठाउँबाट समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपायका विषयमासमेत सुझाव दिनुपर्ने बताउनुभयो ।

महासंघका अध्यक्ष मीनराज कँडेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखासुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले महासंघको आर्थिक वर्ष ०७७-०७८ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महासंघ सदस्य संघको साझेदारीमा महासंघले विभिन्न कार्यक्रम गर्ने जानकारी गराउनुभयो । उपाध्यक्ष रमेश पोखरेलले महासंघले तयार गरेको विभिन्न नीति तथा कार्यविधिका विषयमा प्रष्ट पार्नुभएको थियो । महासंघका सल्लाहकारहरू सांसद उषा झा, पूर्व–अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, किसान आयोगका सदस्य रविन्द्र केसी, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल लगायतले बोल्नुभएको थियो ।


Views: 40