22nd January | 2021 | Friday | 12:52:25 PM

कृषिमा शर्तसहित लगानी ल्याउन निजी क्षेत्रको सुझाव

  POSTED ON : पुष २८, २०७७ (८:०९ AM)

कृषिमा शर्तसहित लगानी ल्याउन निजी क्षेत्रको सुझाव

काठमाडौं । कृषिमा वैदेशिक लगानीबारेमा बहस चर्किरहेकोमा निजी क्षेत्रले भने कृषिमा शर्तसहित वैदेशिक लगानी ल्याइनुपर्ने जनाएको छ । निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले शर्तसहितको लगानीमा जोड दिएका छन् । सरकारद्वारा यही पुस २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसँग सम्बन्धित संघसंस्थाले गरेको विरोधबीच ती संस्थाहरूले यस्तो धारणा व्यक्त प्रकट गरेका हुन् । २०७५ चैतमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पूर्णतः बन्देज गरेको सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निर्यात गर्ने पशुपन्छीपालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने गरी भएको व्यवस्थासम्बन्धी उद्यमीले विरोध गरिरहेका छन् ।

त्यसैगरी, कृषि जस्तो सर्वसाधारणको जीविकासँग प्रत्यक्ष जोडिएको विषयमा विदेशी लगानी भिœयाउन नहुने एउटा तर्क छ भने बढ्दो व्यापारघाटा कम गर्न एवं उत्पादन र उत्पादकŒव बढाउन विदेशी लगानी र प्रविधि आवश्यक रहेको पनि उठेको छ । सोही सन्दर्भमा महासंघ, परिसंघ र चेम्बरले सरोकारवाला निकायसँग छलफल गरी कृषिमा विदेशी लगानीबारे सरकारलाई दुई बुँदे सुझाव पेश गर्ने निर्णयसमेत गरेका छन् ।

विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको सन्दर्भमा उक्त लगानीलाई प्रवद्र्धन गर्न सरकारले जनाएका विगतका प्रतिबद्धता पूरा गर्नु आवश्यक रहेको बताइएको छ । यससँग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउँदा वा संशोधन गर्दा निजी क्षेत्रसँग अनिवार्य रूपमा छलफल गर्नुपर्ने ती संस्थाहरूको भनाइ छ । कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा त्यसबाट भित्रिने प्रविधि, यसले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेर मात्र निर्णय गर्नु आवश्यक हुने भन्दै उच्चतम प्रविधि भियाउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेर मात्र कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यावन्यनमा लगिनुपर्ने महासंघ, परिसंघ र चेम्बरको माग रहेको छ ।

महासंघमा आइएलओ निर्देशक

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का देशीय निर्देशक रिचार्ड हवार्डबीच सोमबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो अवसरमा कोरोनापछि अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा छलफल भएको थियो । साना तथा मझौला उद्यम व्यवसायलाई पुनरुत्थान गर्ने कार्यमा महासंघ र आइएलओबीच हुन सक्ने सहकार्यका विषयमा पनि छलफल भएको महासंघले जनाएको छ ।

देशीय निर्देशक हवार्डले निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलब्ध गराउन आइएलओ तयार रहेको बताउनुभएको छ ।

लगानी विस्तार गर्ने कोरियनको प्रतिबद्धता 

नेपालका लागि दक्षिण कोरियाका राजदूत छङ सक पार्कले नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तरक्रियामा उहाँले नेपालको पर्यटन, जलविद्युत् तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्तालाई प्रेरित गर्ने बताउनुभएको हो । कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गरिने पनि उहाँले जानकारी गराउनुभयो । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको भन्दै कोरियाली लगानीलाई प्रोत्साहनका लागि परिसंघ सदैव तयार रहेको बताउनुभयो । उपाध्यक्षहरू अनुज अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेले नेपालमा कोरियाली एक्जिम बैंकमार्फत पुँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्तालाई सहजीकरण गर्न तयार रहेको बताउनुभएको थियो ।


Views: 41