काठमाडौं । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा जमघट गराउने गर्ने लक्ष्यसहित बिहीबारदेखि राजधानीमा नेपाल जब फेयर २०२१ सुरु भएको छ । जब फेयरको उद्घाटन गर्दै पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले जब फेयर २०२१ जागिर चाहने र रोजगारी दिन तयार रोजगारदाताका लागि उपयुक्त थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । भित्रैबाट मुलुकको विकासको चाहना राख्ने हो भने विकास असम्भव नरहेको भन्दै उहाँले बाहिर बसेर चाहना राख्दैमा केही नहुने बताउनुभयो । नेपालले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘ताप्केको बिँड तातेर केही हुँदैन, माछा पाक्न ताप्के नै तात्नुपर्छ तर नेपालमा ताप्के तात्दै तात्दैन, कसरी तताउने भन्ने नै अहिलेको मुख्य समस्या हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै उहाँले भन्नुभयो, ‘जसको हृदयमा विशालता हुँदैन, आत्मकेन्द्रित चिन्तन हावी हुन्छ, समस्याबारे अवगत भएर पनि विष्लेषण गरी समाधानतर्फ अग्रसरता देखाइँदैन, समस्या यसैबाट गहिरिँदै जान्छ, अहिले भएको पनि यही हो ।’ आफूले मुलुकमा सामाजिक न्यायसहितको समृद्धिको परिकल्पना गरेको उहाँको दाबी थियो । रोजगारविज्ञ प्राडा रमेशप्रसाद कोइरालाले स्वदेशमा रोजगार सिर्जना गर्नका वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि द्धिपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (विप्पा) तथा दोहोरो कर मुक्ति सम्झौता ( डिटिएए) जस्ता कानुनी प्रावधानमा सरकार स्पष्ट हुनुपर्ने जरुरी रहेको बताउनुभयो । अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले अहिलेकै अवस्था रहिरहे मुलुक भयानक मन्दीतर्फ जान सक्ने चेतावनी दिनुभयो । कमजोर सरकारी खर्च, त्यसबाट उत्पादनमा ह्रास, बस्तुको मागमा कमी र पुनः रोजगारीमा कटौतीपछि मुलुक मन्दीको दुस्चक्रमा फस्ने उहाँको भनाइ थियो । पूर्वाधार विकासका जानकार तारा पौडेलले कृषि, पर्यटन, ऊर्जा, उद्योग, बैदेशिक रोजगारी नेपालको विकासका लागि संभावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै सोही क्षेत्रको विकासबाट नेपालमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।
पूर्व डिआइजी केशव अधिकारीले मुलुकभित्र देखिएका अपराधका मुख्य कारण बेरोजगारी रहेकोले यसतर्फ बलैमा सोच्नुपर्ने बताउनुभयो । एस्पायर नेपालको आयोजनामा भएको नेपाल जब फेयर आगामी शनिबारसम्म चल्नेछ । जव फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको छ । जव फेयरमार्फत प्रविधिमार्फत युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने आयोजकको विश्वास रहेको छ । जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागिता रहेको छ । जब फेयर अवधिभर १५० भन्दाबढी अन्तर्वार्ता सेसन सञ्चालन हुने र ३ हजारभन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको नेपाल जब फेयरका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले बताउनुभएको छ ।
Views: 99