8th March | 2021 | Monday | 8:40:30 AM

६९ औँ भन्सार दिवस :राष्ट्रिय एकद्वार प्रणालीको सुरुवात

  POSTED ON : माघ १४, २०७७ (९:०८ AM)

६९ औँ भन्सार दिवस :राष्ट्रिय एकद्वार प्रणालीको सुरुवात

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र र भन्सार विभाग एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । निजी क्षेत्रले भन्सार विभागका समस्या र भन्सार विभागले निजी क्षेत्रका समस्या बुझ्नुपर्ने उहाँको भनाइ थियो । ६९ औं भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा मंगलबार आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्र र भन्सार विभाग एक सिक्काका दुई पाटा भन्दै, एक सिक्का एउटा पाटोविना अर्को पाटो अधुरो हुने बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्सार विभागको चुहावट नियन्त्रणका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोनाले कारण विश्वभरि सिर्जना भएको महामारीका समयमा पनि भन्सार विभागले आपूर्ति शृंखलालाई नियमित गरेकोमा भन्दै भन्सार विभाग र कर्मचारीको प्रशंसासमेत गर्नुभयो । भन्सार विभागलाई विश्वस्तरको प्रणाली अवलम्बलन गरी भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको पनि उहाँले बताउनुभयो । सोही अवसरमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्रिय एकद्वार प्रणालीको शुभारम्भ गर्नुभयो । उक्त प्रणालीले आयात तथा निर्यातका लागि आवश्यक कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिकरूपमा सरकारी कार्यालय जानुपर्ने अवस्था अन्त्य गर्ने बताइएको छ । प्रणालीमार्फत वेब इन्टरफेसमा रहेको सार्वजनिक पोर्टलबाट व्यापारका औपचारिक र प्रक्रिया, उत्पादनको हर्मोनाइज्ड सिस्टम कोड र करलगायत सूचना प्राप्त गर्न सकिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तयारी वस्तु र कच्चा पदार्थमा विश्व व्यापार संगठन(डब्लुटीओ)को नियमअनुसार दुई तहबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष गोल्छाले अहिले पनि सामान आयात गर्न २० प्रकारका डकुमेण्ट तयार पार्नुपर्ने अवस्था रहेको सहजीकरण जोड दिनुभयो । गोल्छाकाअनुसार अहिले पनि तेस्रो मुलुकबाट वस्तु आयात गर्न ३२ दिन लाग्छ भने निर्यात गर्न २८ दिन लाग्छ । वस्तु आयात गर्न १३ सय २० अमेरिकी डलर खर्च गर्नुपर्छ । साथै उहाँले झण्डै एकवर्षदेखि बन्द भएको उत्तरी नाका खुलाउन पहल गर्न पनि आग्रह गर्नुभयो । पछिल्लो समय कोरोना महामारीबीच पनि अर्थतन्त्रमा राम्रै सुधार आएको उहाँको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हाल एकद्वार प्रणालीको सञ्चालन जस्तै ई–पेमेन्ट प्रणाली पनि छिट्टै ल्याउनुपर्ने र करलाई १३ प्रतिशतबाट १० प्रतिशत बनाउनुपर्ने बताउनुभयो । उहाँले कारोबार मूल्यलाई मान्यता नदिँदा व्यापारमा झमेला आएको पनि बताउनुभयो ।

श्रेष्ठले अझै पनि भन्सार प्रशासनमा धेरै कुरा परिवर्तन गर्नुपर्ने भन्दै पूर्व–अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको राजस्व बोर्ड प्रभावकारी नभएको गुनासो गर्नुभयो । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार एजेन्टको संख्या बढाउनुपर्ने र भन्सार मूल्यांकनमा पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आयात तथा निर्यातमा सहज बनाउन पहल भइरहेको बताउनुभयो । साथै उत्तरी नाका खोल्न पनि विशेष छलफल भइरहेको, मन्त्रालयले भैरहवा र वीरगञ्ज एकीकृत जाँच चौकी बनाउन भारतसँग छलफल भई काम अघि बढाउने जानकारी दिनुभयो ।


Views: 76