जगदम्बा सिमेन्ट उद्योगमाथि १०० करोड बढी ठगीको आरोप : सातवटा काल्पनिक ढुवानी कम्पनी खडा गरेर राजस्व अपचलन

  POSTED ON : फाल्गुन ४, २०७७ (७:५३ AM)

जगदम्बा सिमेन्ट उद्योगमाथि १०० करोड बढी ठगीको आरोप : सातवटा काल्पनिक ढुवानी कम्पनी खडा गरेर राजस्व अपचलन

काठमाडौं । नेपालका केही ठूला घरानाहरूका बदमासीहरू एकपछि अर्को गर्दै बाहिरिइरहेका छन् । जनतालाई सेवा पु¥याउने र राज्यकोषको ढुकुटी बढाउने बाचा गरेर स्थापना भएका उद्योगहरूले त्यसलाई अवैध धन्दाको औजार बनाएका छन् । पावर, पैसाको बलमा नीति, नियम र कानुनलाई कुल्चेर लुटको कुकर्म गर्न तल्लीन भएका छन् । अनैतिक बाटो समातेर जब यिनीहरू राज्यलाई नै छल्न तम्सिन्छन् भने आम उपभोक्ता कतिसम्म ठगिएका होलान् अनुमान गर्न गाह्रो छैन । केही उद्योगीहरू आफ्ना सीमाहीन स्वार्थ र नैतिकतालाई बिर्सेर खुलेआम लुटको साम्राज्य मच्चाइरहेका छन् । तर, राज्य संयन्त्रको नियामक निकाय फितलो भइदिँदा यिनीहरूलाई अझै हौसला मिलेको छ । जनतालाई गुणस्तरीय सेवा दिने नाउँमा आफ्नो कम्पनीको ब्राण्ड स्थापित गरी त्यही कम्पनीको नाउँबाट फेरि जनता ठग्ने काम खुल्ला रूपमा भइरहेकोे भेटिएको छ । माथिल्लोस्तरमा सेटिङ मिलाएर राजस्वमाथि अपचलन गर्न अग्रसर छन् । विशाल ग्रुपको लुटधन्दा सेलाउन नपाउँदै फेरि अर्को ठूलो उद्योग घरानाको कर्तुत बाहिरिएको छ । 

नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग भनेर दाबी गर्ने सौरभ ग्रुपअन्तर्गतको जगदम्बा सिमेन्टले विगत चार वर्षदेखि नक्कली ढुवानी कम्पनीहरू खडा गरेर राज्यलाई सय करोड रुपैयाँबराबरको ठगी गरेको पाइएको छ । 

जगदम्बा सिमेन्ट कम्पनीमा लामो समय काम गरेर अवकाश लिएका एक उच्च ओहदाका कर्मचारीका अनुसार ओभर इन्भ्वाइसिङ, फेक इन्भ्वाइसिङ, मनी लण्ड्रिङ र कर छलीसमेत गरी सय करोड रुपैयाँको भ्रष्टाचार भएको हो । यस विषयमा सम्पत्ति शुद्धीकरण, आन्तरिक राजस्व कार्यालय र नेपाल राष्ट्र बैंकको तत्काल अनुगमन आवश्यक देखिन्छ । 

‘राज्यलाई सबैतिरबाट ठगेको देखेर यस्तो ठाउँमा काम गर्नुहुन्न भन्ने छटपटी’ का कारण जागिर छोडेको बताउने ती कर्मचारीले कुन भारतीय कम्पनीलाई कसरी दुरुपयोग गरियो भन्ने विषयमा एक झोला प्रमाण पनि हाम्रो प्रकाशनलाई उपलब्ध गराएका छन् । 

भारतको मुम्बई अँधेरीस्थित स्टेसनरी सामान वितरण गर्ने कुकुयो क्यामलिन पब्लिक लिमिटेड कम्पनीलाई ढुवानी कम्पनीका रूपमा देखाएर नक्कली कागजपत्र खडा गरी ठगेपछि सर्वप्रथम भ्रष्टाचारको पर्दाफास भएको हो । कुनै ढुवानी कम्पनीकै जिएसटी नम्बर प्रयोग गरेर पेस गरेको भए ठगी सावित हुन गाह्रो थियो, तर उद्देश्य नै अलग रहेको कम्पनीको जिएसटी नम्बरका कारण जगदम्बाको ठगी बाहिर आएको हो । 

ढुवानी कम्पनीलाई भुक्तानी गर्दा व्यक्तिका नाममा रकम पठाउने गरेको र यसका लागि हिमालयन बैंक, ठमेल शाखा र नेपाल एसबिआई बैंक, न्युरोड शाखालाई प्रयोग गरेको कागजातले पुष्टि गर्दछ । 

कम्प्युटरबाट नक्कली एक्सएल बिल तयार पारी नक्कली ढुवानी कम्पनीलाई भुक्तानी गर्ने कार्यमा वीरगञ्जमा रहेर वित्तीय क्षेत्र हेर्ने जगदम्बाका निर्देशक अमित अग्रवाल र सोही क्षेत्रको कारखाना हेर्ने डाइरेक्टर राजेश अग्रवाल सक्रिय छन् । 

त्यसैगरी, स्थानीय बैंकहरूलाई प्रयोग गरेर नेपालबाट भारतमा व्यक्तिका नाममा भुक्तानी पठाउने काममा भने सुनील खेतानले नेतृृत्व लिएको देखिन्छ । ‘मैले बुझेसम्म विष्णुप्रसाद न्यौपानेलाई गलत किसिमले भुक्तानी भइरहेका बारेमा जानकारी त छ, तर उनलाई स्टेसनरी कम्पनीको नाम दुरुपयोग भइरहेको थाहा नहुन सक्छ’ अवकाशप्राप्त वरिष्ठ कर्मचारीको भनाइ छ । तर, यो भन्दैमा न्यौपाने शंकाको घेराभन्दा बाहिर भने छैनन्, किनभने कम्पनीको अध्यक्षको हिसाबले पनि सबै जिम्मेवारी उनकै हो, ति कर्मचारी बताउँछन् । कर कार्यालयले यस्तो मुद्दामा १० वर्षसम्मको फाइल झिकाई ट्याक्स अडिट गर्न पाउने भएकाले जगदम्बा सिमेन्ट उद्योग र शुभश्री सिमेन्टका कारखानालाई १२० देखि २०० करोडसम्म जरिवाना गर्ने पक्का छ । 

नेपालबाट डिमाण्ड ड्राफ्टका रूपमा भुक्तानी पठाउने र रक्सौल, भारतबाट रकम झिक्ने काम हुने गरेको पनि स्रोतको भनाइ छ । ‘यसरी डिमाण्ड ड्राफ्ट जसको नाममा जान्थ्यो, उसले काम गरेको पनि हुन्न र उसलाई आफ्नो नाम र जिएसटी नम्बर प्रयोग गरेर कसैले कमाइरहेको छ भन्ने थाहा पनि हुन्न । यता, जगदम्बा सिमेन्ट वा सौरभ ग्रुपका विष्णु न्यौपानेहरूको खातापातामा पनि यस्तो विवरण देखाइँदैन’ ती पूर्व–कर्मचारीले खुलासा गरे । 

जिएसटी नम्बरका आधारमा कुकुयो क्यामलिनलाई जगदम्बा र शुभश्री सिमेन्टका तर्फबाट भुक्तानी गएको देखिन्छ नि भनेर प्रश्न गर्दा त्यहाँका कर्मचारीले आफू ढुवानी कम्पनी नभएको र त्यस्ता सिमेन्ट उद्योगबाट कुनै प्रकारको भुक्तानी पाउने सम्भावना पनि नरहेको जनाएका छन् । उनले आफ्नो नाम दुरुपयोग गरिएकोमा मुद्दा हाल्नका लागि प्रमाण जुटाइरहेको जानकारी पनि दिए । हामी पब्लिक लिमिटेड कम्पनी हो, यदि कसैले हाम्रो नाम दुरुपयोग गरेको छ भने हामी कडा कारबाही गर्नेछौं । 

‘सिमेन्ट उद्योगका लागि भारतबाट सामान नआउने होइन आउँछ, आउनैपर्छ, तर एक सय रुपैयाँ तिरेर एउटा कम्पनीबाट सामान मगाउने, तर चार सय तिरेको देखाएर कागजात पेस गर्ने गरिन्छ’ कर्मचारीले प्रष्ट पार्नुभयोे– यसो गर्नुका दुई कारण छन्, पहिलो बढी खर्च देखाएपछि कम आम्दानी भएको देखाएर नेपाल सरकारलाई बुझाउनुपर्ने करबाट बचियो, अर्को कुकुयोजस्ता कम्पनीलाई मुर्गा बनाउन पनि पाइयो । कोकुयो एउटा कम्पनी भयो, यस्ता अन्य ६ कम्पनीको विवरण म विस्तारमा दिनेछ’, उहाँले भन्नुभयो । 

सौरभ ग्रुपले अर्को महिना सर्वोत्तम सिमेन्टको आईपीओ ल्याउँदै छ । बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता शेयर निष्कासन गर्ने कुरा माघ ६ गतेको साधारण सभाबाट पारित भइसकेको छ । शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कारखानामा भइरहेको अनियमितता सर्वोत्तम सिमेन्टमा चाहिँ नहुने कुरा हुँदैन । 

नेपाल धितोपत्र बोर्डले यस प्रकारका अनियमितताका फाइल र गतिविधिलाई गम्भीर रूपमा हेरेर मात्र शेयर निष्कासनको अनुमति दिनुपर्छ । आम नागरिकको लगानी डुब्नबाट जोगाउनु बोर्डको दायित्व हो । 

सौरभ ग्रुप नेपालको ठूलो औद्योगिक समूह हो, जसअन्तर्गत १२ वटा कम्पनी छन् । मूलतः उत्पादनमूलक उद्योगमा लगानी रहेको ग्रुपको सिमेन्ट, स्टिल, धागो, प्लाष्टिक र चिया उद्योगमा बलियो उपस्थिति छ । ग्रुपले आफ्नो चिया, धागो र प्लाष्टिक उद्योगका उत्पादनमध्ये करिब ९० प्रतिशत निर्यात गर्दै आएको छ ।


सम्बन्धित सामग्री:

सुनको मूल्यमा गिरावट

: कार्तिक १०, २०७८ (१२:२७ PM)
Top