2nd March | 2021 | Tuesday | 7:16:02 AM

कम्पनी सचिवको छुट्टै कानुन

  POSTED ON : फाल्गुन ९, २०७७ (९:३४ AM)

कम्पनी सचिवको छुट्टै कानुन

काठमाडौं । कम्पनी सचिवहरूको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआइसिएस)को शनिबार सम्पन्न १५औं वार्षिक साधारणसभाले ७ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । साधारणसभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चूडामणि पराजुली, भीष्म न्यौपाने निर्विरोध चयन हुनुभएको छ । नयाँ कार्यसमितिले अध्यक्ष, उपाध्यक्ष र प्रबन्ध सञ्चालकको चयन गर्ने बताइएको छ । संस्थामा साधारण सदस्य ६५, आजीवन संस्थागत सदस्य ९ र आजीवन व्यक्तिगत सदस्य १३ जना रहेका छन् । चार्टर्ड एकाउन्टेन्टको जस्तै कम्पनी सचिवको पेशालाई व्यवस्थित र नियमित गर्न इन्ष्टिच्युटले सो सम्वन्धी विधेयकको मस्यौदा तयार पार्न सरकारलाई सहयोग गर्ने भएको छ । हाल कार्यदल गठन भई कम्पनी सचिवसम्वन्धी विधेयकको मस्यौदा तयार गर्ने काम भइरहेको बताइएको छ ।

कानुन आएपछि छुट्टै निकाय गठन भई सो निकायले लिने परीक्षामा पास भई प्रमाणपत्र पाएपछि मात्रै कम्पनी सचिव पेशा अपनाउन पाइनेछ । हाल कार्यरत सचिवहरूले पनि प्रमाणपत्र लिनुपर्ने भएकाले उनीहरूले सहजै प्रमाणपत्र पाउन भन्नका लागि कन्भर्जन कोर्ष तयार गर्ने काम भइरहेको उक्त संस्थाले जनाएको छ । नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिजले भारतको इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (आइएसआई)सँग सहकार्य गरी प्राविधिक सहयोग आदानप्रदान गर्दै आएको छ । एसियाका धेरै मुलुकमा कम्पनी सचिवहरूको नियमन गर्न छुट्टै निकाय गठन भइसके पनि नेपालमा नभएको भन्दै इन्ष्टिच्युटले पटक पटक अर्थमन्त्रीलाई भेटेर कम्पनी सचिवसम्वन्धी छुट्टै कानुन र नियमन निकाय बनाउन माग गर्दै आएको छ । 

विश्वव्यापीकरण र प्रतिस्पर्धी बजार अर्थतन्त्रको समयमा नेपालका कर्पोरेट हाउसमा संस्थागत सुशासन कायम गर्न र नेपालका कम्पनीलाई पनि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी बनाउन कम्पनी सचिवको भूमिका महŒवपूर्ण हुने भन्दै कम्पनी सचिवहरूले छुट्टै कानुनबाट नियमन गर्नुपर्ने माग गर्दै आएका छन् । 


Views: 34

सम्बन्धित सामग्री:

नेप्सेमा पहिरो

: फाल्गुन १६, २०७७ (६:०६ PM)