11th April | 2021 | Sunday | 7:32:20 PM

ब्याजदर सीमाअन्तर उल्लंघन गरे कारबाही

  POSTED ON : फाल्गुन १७, २०७७ (९:१० AM)

ब्याजदर सीमाअन्तर उल्लंघन गरे कारबाही

काठमाडौं । ब्याजदरको सीमाअन्तर उल्लंघन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकमाथि कारबाही हुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रैमाससम्ममा सीमाभित्र ल्याउनुपर्ने उल्लेख गर्दै राष्ट्र बैंकले ब्याजदर अन्तरको सीमा उल्लंघन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने जनाएको छ । त्यस्तै, बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम बुझाउन नसकेका कारण २०७७ पुससम्म कर्जा पुनरसंरचना÷पुनरतालिकीकरण गर्न नसकेका ऋणीबाट शर्तको अधीनमा रही बुझाउनुपर्ने ब्याजको ५ प्रतिशत रकम असुलउपर गरी २०७८ असारभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न भने नयाँ व्यवस्थाले बाधक नहुने पनि परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकले संस्थतागत सामाजिक सुरक्षा कोषबाट हुने खर्चको बढीमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनमा गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत र इजाजतपत्रप्राप्त ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्थासमेत गरेको छ ।

त्यसैगरी, राष्ट्र बैंकले इजाजतप्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थालाई काठमाडौं उपत्याकाबाहिर महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा पुसपछि दुइवटा शाखा विस्तारपछि काठमाडौं उपत्याकामा लघुवित्त वित्तीय संस्थाको शाखा नभएका स्थानीय तहका वडाहरूमा एउटा शाखा विस्तार गर्न स्वीकृति प्रदान गर्ने भएको छ । तर, यसरी काठमाडौं उपत्याकाबाहिर दुई खोलिने दुई शाखामध्ये कम्तीमा एक शाखा गाउँपालिका खोलिएको हुनुपर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यसैबीच, राष्ट्र बैंकले फागुन १८ गते बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ‘ङ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न शर्तसहित ८ वर्ष अवधिको विकास ऋणपत्र निस्कासन गर्ने गर्ने भएको हो । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । उक्त १० अर्ब रुपैयाँ रुपैयाँको विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने बताइएको छ । यस्तो ऋणपत्र धितो राखी कर्जा लिन, दिन पाइनेछ । बोलकबोल प्रस्ताव फागुन १८ गते ३ बजेटसम्म पेश गर्नुपर्नेछ भने फागुन १९ गते निष्कासन हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८.५ अर्ब र १.५ अर्ब छुटयाइएको छ । घटीमा ५० हजार र बढीमा कुल निस्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।


Views: 61