15th June | 2021 | Tuesday | 9:41:37 AM

ललितपुरको नख्खुमा बर्डफ्लु

  POSTED ON : चैत्र १७, २०७७ (८:०५ AM)

ललितपुरको नख्खुमा बर्डफ्लु

काठमाडौं । ललितपुर महानगरपालिका–१४, नख्खुमा बर्डफ्लु रोग पुष्टि भएको छ । पशुसेवा विभागले चैत १३ गते उक्त क्षेत्रमा बर्डफ्लु पुष्टि भएको जनाएको छ । बर्डफ्लु रोगको सघन निगरानी (सर्भिलेन्स) का क्रममा रोग पुष्टि भएको विभागले जनाएको छ । त्यहाँका किसानले पालेका कुखुरा, बट्टार्ई र हाँसबाट संकलन गरिएको नमुनालाई केन्द्रीय अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ । रोग फैलन सक्ने सम्भावित क्षेत्रका घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विभागका अनुसार ५ सय १६ हाँस, ८ सय ५४ स्थानीय कुखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ अण्डा र ३ सय ३५ केजी दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण गरी नष्ट गरिएको जनाउँदै रोग पूर्ण नियन्त्रणमा राख्न जैविक सुरक्षाका विधि अवलम्बन गर्न पनि विभागले आग्रह गरेको छ । विभागले फर्म परिसरमा जैविक सुरक्षा विधि अवलम्बन गर्न, गराउन, सम्पूर्ण पक्षीपालक कृषकले फर्म परिसरमा नियमितरूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, घरपालुवा पक्षीलाई जंगली पक्षीको सम्पर्कमाा आउन नदिन खुलारूपमा गरिने पक्षीपालनलाई निरुत्साहित गर्न, गराउन पनि विभागले सचेत गराएको छ । 

त्यस्तै पक्षी तथा पक्षीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाणपत्र लिएरमात्र गर्न, गराउन र कुनै पनि पक्षी फार्म वा अन्य पक्षीपालन वा बिक्रीस्थलमा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशुसेवा निकायमा सूचना दिन पनि विभागले आग्रह गरेको छ । गत माघ महिनादेखि काठमाडौं, सुर्खेत र जाजरकोटमा देखापरेको बर्डफ्लु रोग तत्काल नियन्त्रण गरी सो क्षेत्रलगायत देशका अन्य स्थानमा बर्डफ्लु रोगको सघन निगरानी कार्यलाई नियमितरूपमा सञ्चालन गरिँदै आएको विभागको भनाइ छ । रोगको निगरानीका क्रममा देशका विभिन्न स्थानबाट नमुना संकलन गरी तत्काल परीक्षण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको पनि विभागले जनाएको छ । सोही क्रममा ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्डफ्लु भेटिएको हो । 

यसअघि काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा बर्डफ्लु पुष्टि भएकाले ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर, २ हजार ५ सय ४ लोकल कुखुरा, ५० टर्की, २७ बट्टाई, ३ हजार ५ सय ७० अण्डा र ३ हजार केजी दाना नष्ट गरेको थियो । उक्त क्षेत्रका पक्षीमा फागुन १२ गते बर्डफ्लु पुष्टि भएको थियो । पशुसेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले अन्य क्षेत्रमा भने हाल बर्डफ्लु संक्रमण नदेखिएको हिमालय टाइम्सलाई बताउनुभयो । तर, बर्डफ्लु नदेखिए पनि विभिन्न क्षेत्रमा पालिएका पक्षीको दैनिकरूपमा नमुना संकलन र परीक्षण भने भइरहेको उहाँले जानकारी दिनुभयो ।


Views: 63