15th June | 2021 | Tuesday | 9:36:11 AM

कृषि उद्यम अभियान सार्वजनिक विद्यालय, देशव्यापी बनाउने परिषद्को तयारी

लेखनाथ पोखरेल   POSTED ON : चैत्र १९, २०७७ (८:२९ AM)

कृषि उद्यम अभियान सार्वजनिक विद्यालय, देशव्यापी बनाउने परिषद्को तयारी

काठमाडौं । कृषिमार्फत् विद्यार्थीलाई उद्यमशील बनाउँदै बाँझो जमिनलाई हराभरा बनाउने उद्देश्यका साथ रामेछापका सार्वजनिक विद्यालयले एक शैक्षिक संस्था, एक उद्यम कार्यक्रम सञ्चालन गर्ने भएका छन् । रामेछापको दोरम्बा गाउँपालिकाका ९ वटा सार्वजनिक विद्यालयले गाउँपालिका र राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा कृषि उद्यम सञ्चालन गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि गाउँपालिकाले प्रतिविद्यालय ६ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । दोरम्बा गाउँपालिका प्रमुख कमानसिं तामाङ र परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 

परिषद्को प्रस्तावमा दोरम्बा गाउँपालिका प्रभावित भएर यस अभियानमा अग्रसरता देखाएकाले अन्य गाउँपालिकामा पनि क्रमिकरूपमा अभियानलाई अघि बढाइने परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हिमालय टाइम्सलाई बताउनुभयो । ढुंगेलका अनुसार उक्त गाउँपालिकामा ९ वटा माध्यमिक विद्यालयमात्र नभई ४३ वटा प्राथमिक विद्यालयमा पनि एक शैक्षिक संस्था, एक उद्यम कार्यक्रम सञ्चालन गरिनेछ । रामेछापमा मात्र नभई यो अभियानलाई देशका सबै पालिकामा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । एक शैशिक संस्था, एक कृषि उद्यम अभियानले नेपालको कृषिक्षेत्रमा क्रान्ति नै ल्याउने उहाँको दाबी छ । ढुंगेलले भन्नुभयो, ‘हामीले कृषि उद्यमशीलताका लागि पहिलेदेखि नै लबिङ गर्दै आएका थियौं तर विविध कारणले कार्यान्वयनमा आउन सकेको थिएन, अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ, यसलाई देशव्यापी बनाउँदै कृषिमा क्रान्ति ल्याउने हाम्रो लक्ष्य रहेको  छ ।’  

हाल दोरम्बा गाउँपालिकाका ९ वटा विद्यालयले किवी, आलुखेती, माछापालन, काउलीखेती, कुखुरापालन, बाख्रापालन, फोहोर उठाउने बिक्र्रो खोल्ने डस्बिन, प्राङ्गारिक मल उत्पादन र सुन्तलाखेती सुरु गर्ने भएका छन् । मल, बिउ, कृषि औजारमा गाउँपालिकाले सहयोग गर्ने र विद्यार्थीले निःशुल्क श्रमदान गर्ने भएकाले अभियान अन्य गाउँपालिका र विद्यालयका लागि पनि मार्गदर्शन बन्न सक्ने परिषद् सचिवालयका नेत्र बुढाथोकीले हिमालय टाइम्सलाई बताउनुभयो । बुढाथोकीका अनुसार उक्त कार्यक्रम सञ्चालन हुने सुर्के देउराली माविका ४ सय २५, काकलिङ विद्यालयका ५ सय, कण्ठेश्वर मावि टोकनपुरका ३ सय, खारपानी माविका १ यस ६०, शिवलिंगेश्वर मावि ताम्चृृनका २ सय ६०, सेतीदेवी मावि गुन्सालका २ सय २०, कालिका मावि रिठ्ठे लखनपुरका ७ सय ५०, भीमेश्वर मावि थापागाउँका २ सय र अन्तर्राष्ट्रिय युवावर्ष माविका १ सय ७५ विद्यार्थी रहेको पनि उहाँले जानकारी दिनुभयो । 

वुढाथोकीका अनुसार विद्यालयका साथै गाउँका बाँझो जमिन भाडामा लिएर कृषि फार्म सञ्चालन गरिनेछ । विद्यालयद्वारा सञ्चालित यस्ता कृषि फार्मबाट उत्पादित वस्तु बिक्रीबाट प्राप्त रकम विद्यार्थीका लागि नै खर्च गरिने उहाँले बताउनुभयो । यसले सार्वजनिक शिक्षाको सवलीकरणमा पनि सहयोग पुग्ने उहाँको भनाइ छ । त्यसो त सुरुमा परीक्षणका रूपमा रामेछापको खाँडादेवी गाउँपालिकमा च्याउ र काउलीखेती गरिएको र उत्पादन पनि सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा कार्यक्रम सफल भएपछि दोरम्बा गाउँपालिकामा पनि सुरु गर्न लागिएको उहाँको भनाइ छ ।

परिषद्ले भक्तपुरको चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा युवा स्वरोजगार अभियान पनि सुरु गरेको छ । ३ सय युवालाई उद्यमशीलता तालिम प्रदान गरेको थियो । उनीहरूलाई तालिमपछि व्यवसाय सुरु गर्न बिनाधितो, बिनाव्याज ५ वर्षका लागि ३÷३ लाख रुपैयाँ ऋणको व्यवस्थासमेत गरेको बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार एकहप्ते उद्यमशीलता तालिमका लागि १३ जनाले आवेदन दिएका थिए । तालिमपछि उनीहरू निकै उत्साहित हुँदै ऋण नपाए पनि व्यवसाय सुरु गर्न हौसिएको बुढाथोकीको भनाइ छ । 


Views: 97