15th June | 2021 | Tuesday | 10:04:32 AM

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत

  POSTED ON : चैत्र १९, २०७७ (८:३१ AM)

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने भएको छ । विश्व बैंकले सन् २०२०-२१ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको हो । महामारीका कारण सन् २०२० अर्थात् आव २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक रहेको थियो । त्यस्तै पाकिस्तानको १.३ प्रतिशत, बंगलादेशको ३.६ प्रतिशत, भुटानको  माइनस १.८ प्रतिशत रहेको छ । कोरोनापछि दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत रहने विश्व बैंकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । 

सन् २०२०÷२१ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.४ प्रतिशतले नकारात्मक रहेको बताइएको छ । विश्व बैंकले भारतको भने १०.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।  विश्व बैंकले सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक फोकस स्प्रिङ २०२१ का अनुसार सन् २०२१-२२ दक्षिण एसियाको आर्थिक वृद्धिदर १० प्रतिशतले बढ्नेछ । दक्षिण एसियाली मुलुकले स्वास्थ्य क्षेत्रमा कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) को २ प्रतिशत पनि खर्च नगरेको जनाएको छ । कोरोना खोप लगाउन सुरु भएपछि केही सुधार आए पनि नयाँ पुस्तालाई उत्साहित र सक्षम बनाउन धेरै लगानी गर्नुपर्ने विश्व बैंकले जनाएको छ । कोरोनाले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौती अहिले पनि कायम नै रहेको उल्लेख गर्दै विश्व बैंकले दक्षिण एसियाली मुलुकका करोडौं मानिसको रोजगारी गुमेको जनाएको छ । विश्व बैंकका अनुसार कोरोनाकै कारण आर्थिक गतिविधिहरू पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् भने सेवा क्षेत्रको अवरोध कायमै रहेको छ ।


Views: 94