11th April | 2021 | Sunday | 6:22:47 PM

राजेश हार्डवेयरलाई उन्मुक्ति, करोडौं ठगीमा तीन लाखमात्रै जरिवाना

लेखनाथ पोखरेल   POSTED ON : चैत्र २४, २०७७ (११:०१ AM)

राजेश हार्डवेयरलाई उन्मुक्ति, करोडौं ठगीमा तीन लाखमात्रै जरिवाना

काठमाडौं । कम तौलको फलामे डण्डी दिएर उपभोक्ता ठगीको आरोप लागेको राजेश हार्डवेयरलाई सरकारले उन्मुक्ति दिएको छ । गत शनिबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजेश हार्डवेयरको बालाजु डिपो सिलबन्दी गर्दै थप अनुसन्धान गरिने जनाएको थियो । बढी परिमाणको बिल बनाएर कम परिमाणको सामान पठाएको पाइएपछि बालाजु डिपो सिलबन्दी गर्दै २४ घण्टाभित्र सम्पूर्ण कागजपत्रसहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको थियो । तर, विभागले ३ लाख रुपैयाँ जरिवाना गरेर उक्त हार्डवेयरलाई उन्मुक्ति दिएको छ । विभागका निर्देशका शिवराज सेडाइँले कारबाहीस्वरूप राजेश हार्डवेयरसँग ३ लाख रुपैयाँ जरिवाना लिएको हिमालय टाइम्सलाई बताउनुभयो । यसअघि सेडाइँले बालाजु डिपोमा कैफियत भेटिएपछि अन्य डिपोमा पनि कैफियत हुनसक्ने भन्दै ठाउँको ठाउँ जरिवाना नगरी थप अनुसन्धान गरिने बताउनुभएको थियो । 

सेडाइँले उपभोक्ता संरक्षण ऐन, २०७५ ले अनुगमन अधिकृतलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म ठाउँको ठाउँ जरिवाना गर्ने अधिकार दिएको भए पनि ३ लाख जरिवानाले मात्रै नहुने देखिएकाले थप अनुसन्धान अघि बढाइने हिमालय टाइम्सलाई बताउनुभएको होे । एउटै कसुरमा एउटै व्यक्तिलाई दुईवटा सजाय गर्न नमिल्ने भएकाले तत्काल जरिवाना नगरिएको उहाँको दाबी थियो तर विभागले राजेश हार्डवेयरलाई २ दिनमै उन्मुक्ति दिएको छ । त्यसो त निर्देशक सेडाइँले तत्कालका लागि ३ लाख जरिवाना गरिएको भए पनि राजेश हार्डवेयरमाथिको अनुसन्धान भने जारी रहने र थप कारबाही हुनसक्ने जिकिर गर्नुभएको छ । तर, एउटै कसुरमा दुईवटा सजाय गर्न नमिल्ने उहाँले नै बताउनुभएकाले अनुसन्धानपछि थप कारबाही हुने भन्ने दाबी आफैंमा विरोधाभासपूर्ण देखिन्छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि करोडौंको ठगीमा ३ लाख जरिवाना लिएर विभागले नाममात्रको कारबाही गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘विभागले ठूला व्यापारीलाई कारबाही गर्नै सक्दैन किनभने विभागलाई माथिको दबाब हुन्छ, स्वतन्त्ररूपमा काम गर्न दिइँदैन । नेपालमा यस्तै चलिरहेको छ, के गर्ने ?’  

अनुगमनमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद तिमल्सिनाका अनुसार राजेश हार्डवेयरका फलामे डण्डीको एउटै मुठोमा १० केजीसम्म कम तौल रहेको पाइएको थियो । मालिकको निर्देशनबिना डिपो प्रमुखले मात्रै यस्तो हर्कत गर्न नसक्ने भन्दै उहाँले राजेश हार्डवेयरले देशैभरका उपभोक्तालाई ठगी गरेको हुनसक्ने पनि बताउनुभएको थियो । 

राजेश हार्डवेयर देशव्यापी सञ्जाल भएको निर्माण सामग्री बिक्री गर्ने कम्पनी हो । यसको सञ्चालक व्यवसायी सुवास अग्रवाल हुन् । हार्डवेयरको व्यापारमा सीमित व्यवसायीको एकाधिकार रहेकाले बेला–बेलामा फलाम, डण्डीलगायतका निर्माण सामग्रीमा सिण्डिकेट र कार्टेलिङ हुने गरेको उपभोक्ता र निर्माण व्यवसायीले बताउँदै आएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले उद्योगी व्यापारीले बिनाकारण निर्माण सामग्रीमा मूल्य बढाउँदा निर्माण आयोजनाको लागत बढ्ने गरेको गुनासो गरेका छन् । त्यसो त सिमेन्ट उद्योगले पनि बेला–बेलामा मूल्य बढाउने गरेको पाइएको छ । यसरी मूल्य बढाउँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हस्तक्षेप पनि गर्ने गरेको छ । 


Views: 118