11th April | 2021 | Sunday | 7:19:55 PM

माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाख दोस्रो हप्तादेखि पेनस्टक र सुरुङमा पानी

  POSTED ON : चैत्र २६, २०७७ (९:५१ AM)

माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाख दोस्रो हप्तादेखि पेनस्टक र सुरुङमा पानी

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायत संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना कामहरू भइरहेको आयोजनाले जनाएको छ । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा पुगेको बताइएको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी ६ वैशाखभित्रमा सम्पन्न गर्ने लट–२ हाइड्रो मेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । 

हाल हाइड्रो मेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानातिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गर्ने आयोजनाको तयारी छ । मुख्य निर्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावरका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्तरूपमा बाँकी रहेका निर्माण कार्यहरू चाँडै सम्पन्न गर्न आग्रह गर्नुभएको प्राधिकरणले जनाएको छ ।

बाँकी रहेका काम वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गरी पहिलो युनिटबाट वैशाखभित्र विद्युत् उत्पादन सुरु हुने शाक्यले बताउनुभएको छ । शाक्यका अनुसार चालु आवभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी चार सय ५६ मेगावाट नै विद्युत् उत्पादन हुनुपर्छ । आयोजनामा ७६÷७६ मेगावाटका छवटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल (लट–२) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले निर्माण कार्यमा ढिलाइ भएको आयोजनाले जनाएको छ । 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण प्रभावित भए पनि अब आयोजना अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोजनाले चरिकोट–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र सातवटा पक्की पुल बनाएको छ । सोही पूर्वाधार प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोशीबाहेक सानाठूला गरी करिब सात सय मेगावाटका २१ जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।


Views: 49