16th May | 2021 | Sunday | 7:28:21 PM

नेपालको अर्थतन्त्र सुधारोन्मुखः विश्व बैंक

  POSTED ON : चैत्र ३१, २०७७ (७:५० AM)

नेपालको अर्थतन्त्र सुधारोन्मुखः विश्व बैंक

काठमाडौं । कोरोनालगायत अवरोधबीच नेपालको आर्थिक वृद्धिदर २०७८ मा २.७ प्रतिशत हुने बताइएको छ । ४० वर्षपछि पहिलोपटक आर्थिक वर्ष सन् २०७७ मा संकुचित भएको नेपाली अर्थतन्त्र निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्यसँगै विश्व बैंकले २०७८ मा २.७ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरेको हो । 

पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । कोरोनापछिको पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अघि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्ने विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेट प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार कोरोनापछिको पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान पूर्णरूपपमा नहुन सक्ने र आयात तथा रेमिट्यान्समा सामान्य सुधार हुनेछ । 

निर्यात यथास्थितिमा रहनसक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८-२०७९ मा चालु खाता घाटा घट्न गई कुल ग्राहस्थ उत्पादन (जिडिपी) को १.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । राजस्व संकलन लक्ष्यअनुसार हुनसक्ने संभावना न्यून भएको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजना पुनःसञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चले आर्थिक वर्ष २०७८-२०७९को वित्तीय घाटा बढाएर उक्त आवको जिडिपीको ७ प्रतिशतनजिक पु-याउने प्रतिवेदनले जनाएको छ । सरकारले कोरोनाबाट उत्पन्न जोखिम सम्बोधन गर्ने कार्यक्रम रेखांकित गरिसकेको अवस्थामा नेपाल विकास अपडेटले उत्थानसिल आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिस्पर्धी क्षमतामा सुधार ल्याउनु महŒवपूर्ण हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक डा. केने इजेमेनारीका अनुसार नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब नेपाली रुपैयाँबराबर अनुमान गरिएको छ, जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो, यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्छ । मध्यकालीन समयावधिमा यो सम्भाव्य क्षमतालाई हासिल गर्ने कुरा असम्भव पनि छैन् ।’ 

प्रतिवेदनले नेपालको निर्यात क्षमता हासिल गर्न जोड दिनुपर्ने ६ वटा प्रमुख प्राथमिकता उल्लेख गरेको छ । यसमा तीव्र र उत्थानशील पुनर्लाभका लागि पर्यटन क्षेत्रमा सुधार, अधिक वैदेशिक लगानी आकर्षित गर्न प्रक्रिया सरलीकृत र सुव्यवस्थित गर्ने, निर्यात प्रवद्र्धनलाई आधुनिकीकरण र निर्यातकर्ताको क्षमता सुधार गर्ने, व्यापार लागत घटाउने, बोटबिरुवाको स्वास्थ्यसम्बन्धी फाइटोसेनिटरी र गुण नियन्त्रणका पूर्वाधारमा लगानी गर्ने, विश्व मूल्य शृंखलामा जोडिएको अधिक अवसरका लागि डिजिटल व्यापारलाई बढावा दिने रहेको छ । 

उक्त प्रतिवेदन सार्वजनिक गर्दैै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्नुभयो, ‘मानिसको जीवन, जीविकोपार्जन र व्यवसायमा गम्भीर असर पारेको कोरोनाको विश्वव्यापी प्रभावका बाबजुद पनि नेपालको अर्थतन्त्र सुधारको बाटोमा छ, आर्थिक सुधारमा बल पु-याउन निर्यातको सम्भाव्यतालाई बढावा दिन गरिएका सुझाब नेपालले अंगीकार गरेको नीति र प्राथमिकता अनुकूल नै छ । हरित, उत्थानशील र समावेशी विकासको एजेण्डामार्फत महाव्याधिपछिको पुनर्निर्माणलाई थप उत्तम र वातावरणमैत्री बनाउन नेपाल सरकार विकास साझेदार र निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ ।’

 माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले भन्नुभयो, ‘हामी नेपालको हरित, उत्थानशील र समावेशी विकासलाई सहयोग गर्न सरकारले चालेका योजनाबद्ध सुधारका कदमलाई स्वागत गर्छौं, यस संकटबाट थप बलियो बनेर निस्किन नेपालका लागि यो एक आधार हुनेछ, यस प्रयासमा हामी विशेषगरी दिगो र उत्थानशील पुनर्लाभलाई सहयोग पु¥याउन नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न टेवा पुग्ने लगानीका लागि सरकार र विकास साझेदारसँग निरन्तर सहकार्यका लागि तत्पर छौं ।’


Views: 100