18th May | 2021 | Tuesday | 6:45:57 AM

आठ महिनाको व्यापारघाटा आठ खर्ब ६३ अर्ब

  POSTED ON : चैत्र ३१, २०७७ (७:५३ AM)

आठ महिनाको व्यापारघाटा आठ खर्ब ६३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुक क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ८ महिनाको तथ्यांक अनुसार सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागोलगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचालगायत वस्तुको निर्यात घटेको छ । 

सो अवधिमा कुल वस्तु आयात भने २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । भारततर्फबाट हुने आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, यातायातका साधन तथा पार्टपूर्जा, दूरसंचारका उपकरण तथा पार्टपूर्जालगायत आयात बढेको छ भने पेट्रोलियम, हवाईजहाजका पार्टपूर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपूजा, भडियो, टेलिभिजन तथा पार्टपूजालगायतको आयात घटेको छ । 

आव २०७७÷७८ को ८ महिनामा कुल वस्तु व्यापारघाटा १.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स आयमा वृद्धि

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद् प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आई १० अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड थियो । त्यस्तै शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३७ अर्ब ८४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा छ ।

मूल्यवृद्धि ३.०२ प्रतिशत

२०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत छ । २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडीको मूल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत छ । काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति छ । २०७६ फागुनमा यी क्षेत्रमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति थियो । 


Views: 107