16th May | 2021 | Sunday | 6:24:19 PM

अब सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन

  POSTED ON : बैशाख ३, २०७८ (९:०७ AM)

अब सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन

काठमाडौं । सातवटै प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेन्डरबाट छनौट भएको चीनको जियाङसु वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिने चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको प्राधिकरणले जनाएको छ । 

सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो । उहाँले हरेक चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाटको चार्जर र त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने जानकारी दिनुभयो । 

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिनेछन् । जसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एक साथ चार्ज गर्न सकिनेछ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिनसक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधनको चार्जपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत् बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला शहरमा राखिनेछ भने काठमाडौं उपत्यकामा सातवटा चार्जिङ स्टेसन रहने प्राधिकरणले जनाएको छ । 

प्रदेश १ दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरीमा गरी पाँचवटा चार्जिङ स्टेसन रहनेछन् । प्रदेश २ को वीरगञ्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराज गरी सातवटा चार्जिङ स्टेसन हुनेछन् । त्यस्तै वाग्मती प्रदेशको मलेखुमा दुई, बीपी राजमार्गको सिन्धुलीमा दुई, हेटौंडामा दुई, भरतपुरमा दुई तथा मुङलिन÷कुरिनटारमा चार र बनेपामा एक गरी १३ वटा चार्जिङ स्टेसन रहनेछन् । गण्डकीको नवलपुर, दमौली, स्याङ्जामा एक÷एक र पोखरामा तीन गरी छवटा चार्जिङ स्टेसन रहनेछन् भने लुम्बिनीमा आठवटा चार्जिङ स्टेसन रहनेछन् ।

नेपालगञ्जमा एक, भालुवाङ तथा दाङमा एक÷एक, बुटवलमा एक, बर्दघाट÷सुनवलमा दुई गरी आठवटा चार्जिङ स्टेसन रहनेछन् । कर्णालीको सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा तीनवटा चार्जिङ स्टेसन रहनेछन् । महेन्द्रनगर, धनगढी र डडेल्धुरामा एक÷एक गरी सुदूरपश्चिममा तीनवटा चार्जिङ स्टेसन रहनेछन् । चार्जिङ व्यवस्था नहुँदा विद्युतीय गाडीको प्रवद्र्धन हुन सकेको थिएन । सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेको भए पनि सो सम्बन्धित आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा विद्युत्तीय गाडीको प्रवद्र्धन हुन नसकेको सम्बद्ध व्यवसायीले गुनासो गर्दै आएका छन् । 


Views: 89