16th May | 2021 | Sunday | 3:23:31 AM

नयाँ पुनर्बीमा कम्पनी खोल्न प्रस्ताव आह्वान

  POSTED ON : बैशाख १७, २०७८ (८:५४ AM)

नयाँ पुनर्बीमा कम्पनी खोल्न प्रस्ताव आह्वान

काठमाडौं । बीमा समितिले थप पुनर्बीमा लाइसेन्स वितरणको तयारी गरेको छ । समितिले बिहीबार एक सूचना जारी गर्दै पुनर्बीमा कम्पनीको लाइसेन्सको आवेदन माग गरेको छ । पुनर्बीमा व्यवसायलाई थप प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाका लागि आह्वान गरिएको समितिले जनाएको छ । सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्म रीतपूर्वक भरेको आवेदन दिन सकिनेछ । पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पूँजी कम्तीमा १० अर्ब हुनुपर्नेछ भने सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले भने आवेदन दिन पाउने छैनन् । प्रस्तावकले प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेश गर्दा समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ को परिच्छेद ३ को बुँदा ९ मा व्यवस्था भएअनुसार संस्थापना दर्तासम्बन्धी प्रावधानमा उल्लेखित बुँदासमेत समावेश गर्नुपर्नेछ । प्रस्तावमध्ये बीमा समितिले तयार गर्ने मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने कम्पनीलाई छनौट गरिने समितिले जनाएको छ । समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरेको  छ । बीमा समितिले बीमाविज्ञ भोजराज शर्माको संयोजकत्वमा नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि सम्भाव्यता अध्ययन गराएको थियो । सोही अध्ययन प्रतिवेदनका आधारमा नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स खुला गरेको हो ।
 हाल सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, विशाल ग्रुपको तीन प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको दुई दशमलब सात प्रतिशत, सर्वसाधारणको १६ प्रतिशतसहित अन्य बीमा कम्पनीको शेयर स्वामित्व रहेको छ ।

Views: 65