16th May | 2021 | Sunday | 2:43:31 AM

कोरोना सुरक्षाका लागि बैंकलाई १२ बुँदे निर्देशन

  POSTED ON : बैशाख २१, २०७८ (९:४४ AM)

कोरोना सुरक्षाका लागि बैंकलाई १२ बुँदे निर्देशन

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले कोरोना सुरक्षा मापदण्ड अपनाउँदै नेपाल राष्ट्र बैंकको निर्र्देशनअनुसार बैंकिङ सेवा प्रदान गर्न आफ्ना सदस्य संस्थालाई विभिन्न १२ बुँदे निर्देशन दिएको छ । कोरोनाको बढ्दो संक्रमणका कारण बैंक तथा वित्तीय संस्थालाई आफ्ना ग्राहकको सेवामा चुनौती थपेको उल्लेख गर्दै निषेधात्मक आदेशको पालना गर्दै र आवश्यक सजगताका साथ ग्राहकलाई सेवा प्रदान गर्न एसोसिएसनसँग सम्बद्ध सदस्य बैंकलाई उक्त निर्देशन दिएको हो । एसोसिएसनले राष्ट्र बैंकबाट जारी निर्देशनको अक्षरशः पालना गर्ने र कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोरोनाको असर पर्न नदिन सम्भव भएसम्मका उपाय अवलम्बन गर्ने, निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकबीच समन्वयका लागि आदानप्रदान गर्ने, सेवा प्रदान गर्न खोलिने शाखा÷वैकल्पिक शाखाको सूची बैंकिङ समयसमेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेभसाइट र शाखाको मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउन भनेको छ ।
स्थानीय प्रशासनले बैंकिङ सेवासमेत प्रवाह गर्न रोक लगाएको वा वैकल्पिक व्यवस्था गरेको भएमा सोहीअनुसार गर्ने, स्थानीय प्रशासन र अन्य निकायसँग आवश्यक समन्वयको व्यवस्था मिलाउने, प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखामा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्न सम्पर्क व्यक्ति तोकी सम्पर्क व्यक्तिको फोन र इमेल आइडी बैंकको वेभसाइटमा प्रकाशित गर्न पनि एसोसिएसनले निर्देशन दिएको छ । त्यस्तै सदस्य बैंकले प्रधान कार्यालयमा दुईजना वरिष्ठ पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकी ती पदाधिकारीको नाम, मोबाइल., इमेल आइडी एसोसिएसनको सचिवालयलाई उपलब्ध गराउन पनि भनेको छ । एसोसिएसनमार्फत् पहल गरी समाधान गर्नुपर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष÷उपाध्यक्ष÷अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशीघ्र जानकारी गर्ने, डिजिटल बैंकिङ प्रोडक्टबाट बैंकिङ कारोबार गर्न ग्राहकलाई उत्प्रेरित गर्ने र उपलब्ध र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट सोसम्बन्धी जानकारी ग्राहकलाई गराउने, डिजिटल बैंकिङ प्रोडक्टबाट गरिने कारोबार प्रक्रिया र अपनाउनुपर्ने सावधानीका बारेमा पनि ग्राहकलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट जानकारी गराउनुपर्नेलगायतका निर्देशन दिइएको एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिनुभएको छ ।


Views: 86