15th June | 2021 | Tuesday | 9:26:32 AM

कोरोना उद्धार उडानमा बढी भाडा नलिएको दाबी

  POSTED ON : बैशाख २८, २०७८ (९:०४ AM)

कोरोना उद्धार उडानमा बढी भाडा नलिएको दाबी

काठमाडौं । वायु सेवा सञ्चालक संघले हेलिकोप्टर कम्पनीहरूले कोरोना उद्धार उडानका नाममा बढी भाडा नलिएको दाबी गरेको छ । बरु संघका सदस्य वायु सेवा सञ्चालकले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी यस्तो विषम परिस्थितिमा आफ्नो जिउ ज्यानसमेतको प्रवाह नगरी आम नागरिकको जीवनरक्षामा वायु सेवा कम्पनीका पाइलट, इञ्जिनियर, ग्राउण्ड स्टाफलगायत अन्य कर्मचारी दिनरात खटिरहेको संघको भनाइ छ । केही मिडियाहरूमा कोरोना उद्धार उडानका नाममा हेलिकोप्टर कम्पनीहरूले बढी भाडा असुलेको समाचार आएपछि संघले यस्तो दाबी गरेको हो । 

यस्तो विषम परिस्थितिमा आफ्नो दायित्वमा संघका वायुसेवा कम्पनीहरू अडिग रहँदै कोरोना विरामको उद्धारमा खटिएका उडानको संघले अवलोकन एवं निगरानी गरिरहेको र अर्कोतर्फ निरीक्षण एवं नियन्त्रित गर्ने निकाय नेपाल नेपाल नागरिक उड्डयान प्राधिकरणसमेतले सूक्ष्म निगरानी गरिरहेको र प्राधिकरणको नीति नियममा रहेर उडान गरिरहेको पनि संघले दाबी गरेको छ । संघले ३ वर्षअघि प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १ हजार ५ सय प्रतिघण्टा एवं रोविन्सन्स हेलिकोप्टरको युएस डलर १ हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दैै आएकोमा हाल उक्त दरभन्दा पनि कममा उडान गर्दै आएको संघको भनाइ छ ।

कोरोना उद्धार उडानका हकमा प्राधिकरणको प्रोटोकल एवं स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डअनुुसार उडान गर्नुपर्ने भएकोले सम्पूर्ण उडानमा खटिने पाइलटलगायत कर्मचारीका लागि पिपीइ सेट, प्यारामेडिकल टोली, सेमी भेन्टिलेटर उपकरण, थप बिमा, प्रत्येक उडानपछि हेलिकप्टरको सेनिटाइजेसन र डिसइन्फेक्सनलगायत अन्य सामग्रीसमेत प्रयोग हुने र मेडिकल टोलीको प्रयोग गर्नैपर्ने भएकोले अन्य उडानभन्दा उडान समयसमेत बढी लाग्ने भएकोले कोरोना उद्धार उडानमा प्रति उडान थप १ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने संघको जिकिर छ । 

वायुसेवाले प्राधिकरणको नियन्त्रण एवं निगरानी र संघको समेत निगरानीमा रही उडान गरिरहेको र चर्को भाडा लिएको भनी अनर्गल प्रचारवाजी भएको संघको गुनासो छ । साथै संघले उक्त गलत प्रचारबाजीमा नलागी विरामका आफन्तले बिचौलियालाई सम्पर्क नगरी सम्बन्धित कम्पनीमा सम्पर्क गरी उद्धार उडान गर्नसमेत आग्रह गरेको छ । कोरोना बिरामी उद्धार उडान सम्बन्धमा कुनै गुनासो भएमा उडान कम्पनीका आधिकारिक कम्पनी र तथा संघका आधिकारिक व्यक्तिसँग सिधै सम्पर्क गर्न पनि संघले सर्वसाधारणको ध्यानाकर्षण गराएको छ । गुनासो तथा अन्य जानकारीका लागि संघका प्रवक्ता योगराज कँडेल शर्मा(९८५१०२९३३३) मा सम्पर्क गर्न सकिने संघद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै उद्धार उडानका लागि अल्टिच्युड एयर प्रालि, हेली एभरेष्ट प्रालि, कैलाश हेलिकप्टर प्रालि, मनाङ एयर प्रालि, श्री एयरलाइन्स प्रालि र सिम्रिक एयर प्रालिमा सिधै सम्पर्क गर्न सकिने पनि संघले स्पष्ट पारेको छ ।


Views: 71