15th June | 2021 | Tuesday | 8:39:24 AM

कालीमाटीमा खुद्रा तरकारी कारोबार बन्द, निजी तरकारी बजारमा पनि कडाइ गर्न माग

  POSTED ON : बैशाख २९, २०७८ (९:०१ AM)

कालीमाटीमा खुद्रा तरकारी कारोबार बन्द, निजी तरकारी बजारमा पनि कडाइ गर्न माग

काठमाडौं । कोरोना सक्रमणको जोखिमसँगै कालीमाटी तरकारी बजार बन्द गरिएको छ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार एक सूचना जारी गर्दै कृषक बजार बन्द गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताउनुभएको छ । बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्द हुने समितिले जनाएको छ । 

समितिले थोक बजारमा प्याकेजिङ गरेर मात्रै तरकारीको बिक्री गर्न सकिने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना मात्रै बसेर सामाजिक दूरी कायम गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्नुपर्नेछ । बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्णरुपमा बन्देज लगाइएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन ¥याक÷होल्डिङ ¥याकमा कारोबार गर्नुपर्नेछ । यसअघि बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो । त्यसो त निषेधाज्ञासँगै तरकारीको आपूर्ति पनि घटेको समितिले जनाएको छ । 

तरकारी व्यवसायीले निजी क्षेत्रले संचालनमा ल्याएका अन्य तरकारी बजारमा पनि कालीमाटी तरकारी बजारकै जस्तो कोरोना सुरक्षा मापदण्ड लागू गरिनुपर्ने बताएका छ । फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोम प्रसाद घिमिरेले हालको सम्वदेनशील अवस्थालाई मध्यनजर गर्दै अन्य तरकारी बजारमा पनि कालीमाटीकै जस्तो कडाइ गर्नुपर्ने हिमालय टाइम्सलाई बताउनुभयो ।

घिमिरेका अनुसार कोरोना निषेधाज्ञामा पनि तरकारीको कारोबार र आपूर्तिमा खासै कमी आएको छैन । तरकारी फलफूलका गाडीमा सुरक्षा निकायले कुनै अवरोध नगरेकोले किसानले उत्पादन गरेको तरकारी बजार हुँदै उपभोक्तासम्म पुगिरहेको उहाँको भनाइ छ । घिमिरेले भन्नुभयो, ‘कोरोना निषेधाज्ञा भए पनि किसानले बजार नपाएर तरकारी फाल्नुपरेको छैन, किसानको तरकारी बजारसम्म पुगिरहेको छ ।’ विगत केही सातायता तरकारीको मूल्य पनि घटेको घिमिरेले दाबी गर्नुभएको छ । थोकमा घटेपनि कोरोना निषेधाज्ञाका नाममा खुद्रा व्यापारीले महँगो बिक्री गर्नसक्ने भन्दै सरकारले बजार अनुगमन गरेर मूल्य नियन्त्रण गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ । घिमिरेले भन्नुभयो, ‘थोक बजारमा तरकारीको मूल्य घटेको छ तर खुद्र्रा व्यापारीले कोरोना निषेधाज्ञाका नाममा बढी मूल्य लिएको हुनसक्छ, खुद्रा व्यापारी बढी मूल्यमा बिक्री गरे पनि थोक व्यापारीलाई नै दोष लगाउने प्रवृत्ति देखिएको छ, त्यसैले सरकारले अनुगमन गर्नुपर्छ ।’ 

समितिका अनुसार कालीमाटी तरकारी बजारमा ६१ वटा खुद्रा व्यापारीका स्टल रहेका छन् । जसमा ताजा तरकारी ४६, आलु, प्याज १२ र मसलाजन्य ३ वटा रहेका छन् । त्यस्तै, थोकतर्फ कुल ४ सय ५४ वटा स्टलमध्ये ताजा तरकारी ३ सय ८, आलु प्याज ९१, माछा २७, फलफूल १५ र मसलाजन्य १३ वटा स्टल रहेका छन् । अन्य सेवामूलकतर्फ ५० स्थानमध्ये बिउविजन २, दुग्धपदार्थ १, च्याउ २, चमेनागृह र भोजनालय ५, गोदाम तथा केज ४० रहेका छन् । त्यस्तै, कार्यालय सञ्चालनतर्फ वैंक १, सहकारी संस्था २, संघ संस्था ३ विषादी अवशेष विश्लेषण इकाइ १ गरी कुल ७ वटा रहेका छन् । त्यसैगरी विविध सेवा सञ्चालनतर्फ मोटरसाइकल पार्किङ १, प्रवेश शुल्क संकलन १, सौचालय १ र बजार सरसफाइ १ गरी कुल ४ इकाइ रहेका छन् । 

बजारमा थोक, खुद्रा तरकारी बजार तथा संघ संस्था गरी कुल ५ सय ७६ स्टल रहेको समितिले जनाएको छ । ४५ रोपनीमा फैलिएको कालीमाटी तरकारी बजार राजधानीमा जनसंख्याको चापसँगै सरकारले अन्य स्थानमा पनि तरकारी बजारमा सञ्चालनका लागि सरकारले आवश्यक पूर्वाधार तयारी गरिरहेको छ । 


Views: 69