15th June | 2021 | Tuesday | 8:47:04 AM

आयात उच्च दरमा वृद्धि, निर्यात सुस्त, मूल्यवृद्धि झनै आकासियो

लेखनाथ पोखरेल   POSTED ON : बैशाख ३०, २०७८ (९:०७ AM)

आयात उच्च दरमा वृद्धि, निर्यात सुस्त, मूल्यवृद्धि झनै आकासियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-०७८ को नौ महिना अर्थात् साउनदेखि चैतसम्म वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको नौ महिनाको तथ्यांकअनुसार भारत तथा अन्य मुलुकतर्पm क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ । सोयाविन तेल, अलैंची, जुटका सामान, धागो, पश्मिनालगायतको निर्यात बढेको छ भने पाम आयल, दाल, जस्तापाता, तार, चोकरलगायतको निर्यात घटेको छ । 

नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो । भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकको आयातमा २.३ प्रतिशतले कमी आएको छ । यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतकोे आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम, कच्चा पाम आयल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदीकोे आयात घटेको छ । चालु आव २०७७÷०७८ को नौ महिनामा कुल वस्तु व्यापारघाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले घटेको थियो । निर्यात–आयात अनुपात ८.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब १३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय एक अर्ब आठ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९०.२ प्रतिशतले कमी आई पाँच अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड थियो ।

विदेश जाने घटे पनि रेमिट्यान्स वृद्धि

रेमिटयान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई सात खर्ब २९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको रेमिट्यान्स ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो । चालु खाता दुई खर्ब सात अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब २६ अर्ब नौ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ७७ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा सोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा थियो ।

घिउ तेलमा २१.३८ प्रतिशत मूल्यवृद्धि 

चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ । २०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेल, मासु तथा माछा, सुर्तीजन्य पदार्थ र गैरमदिराजन्य पेयपदार्थ समूहको मूल्यवृद्धि क्रमशः २१.३८, १२.६१, १०.४१ र १०.१८ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३.२४, तराईमा २.९२, पहाडमा ३.३८ र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ चैतमा यी क्षेत्रमा क्रमशः ७.१९, ७.०४, ५.८४ र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो । 


Views: 109