21st June | 2021 | Monday | 11:46:23 AM

विश्व खाद्य प्रणालीको पूर्व-सम्मेलन सुरु

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (८:५० AM)

विश्व खाद्य प्रणालीको पूर्व-सम्मेलन सुरु


संयुक्त राष्ट्रसंघले अंगीकार गरेको दिगो विकास लक्ष्य हासिल गर्न आत्मनिर्भरमुखी कृषि प्रणालीमा जोड दिनुपर्र्ने विज्ञहरूले औंल्याएका छन् । सन् २०३० सम्म विश्वबाट भोकमरीको अन्त्यसमेतका विकास लक्ष्य हासिल गर्नका लागि विश्वभरका मुलुकबाट अवस्था विश्लेषण गर्न राष्ट्रसंघले आयोजना गर्ने खाद्य प्रणाली पूर्व– सम्मेलनको अवधारणाअनुसार नेपालमा पनि यसको सुरुवात गरिएको हो । 

बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले कृषि क्षेत्रमा आत्मनिर्भर हुने खालका कार्यक्रममा जोड दिने बताउनुभयो । राष्ट्रिय कृषक समूह महासंघलगायत राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिञ्चाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (अनाज)द्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले कृषिको सुधारबिना अर्थतन्त्रको सुधार नहुने भन्दै कृषिका सबै विषयवस्तुलाई सम्मेलनमा उठाइने बताउनुभयो । राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम संयोजक केदार कोइरालाले खाद्य उत्पादक किसानको क्षमता विकास, स्वच्छ उत्पादनमा सहजीकरण र अभ्यास, उत्पादनको साधन स–साना किसानको पहुँच स्थापना, कृषि उद्यम विकास, बालीको समर्थन मूल्य, बजारीकरणमा जोड दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले दिगो विकासका १७ लक्ष्यमध्ये १५ लक्ष्यमा सामुदायिक वन उपभोक्ता समूहले योगदान पुर्‍याउँदै आएको बताउनुभयो । राष्ट्रिय भूमि अधिकार मञ्चका राम लोहारले भू-स्वामित्वका लागि आवाज उठाउँदै पनि सम्बोधन नभएको गुनासो गर्नुभयो । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सांस्कृतिक खेतीपातीले रैथाने बालीको संरक्षण गर्दै आएको बताउनुभयो । सांस्कृतिक खेतीले रैथाने बाली जोगाउन मात्रै नभएर दिगो खाद्य प्रणालीमा समेत सघाउने उहाँको भनाइ छ । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी प्राध्यापक रक्षा शर्माले नाफामूलक उत्पादनले दिगो खेती प्रणाली ओझेलमा पर्दै गएको बताउनुभयो । कर्पोरेट कृषकका कारण साना किसान कृषिबाट विमुख हुने खतरा रहेको उहाँको भनाइ छ । कृषि अभियान्ता चन्द्रप्रसाद अधिकारील हरित क्रान्तिका नाममा विषादीले कृषि संस्कृति सुरु भएको गुनासो गर्नुभयो । 

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका डा. जगत बस्नेतले स्मार्ट सिटीको अवधारणाले साना विकास विस्थापित हुने बताउनुभयो । कृषि विकास बैंकका कृषि ऋण विभाग प्रमुख बाबुकाजी थापाले साना किसानका लागि विभिन्न कर्जा ल्याए पनि उनीहरू लाभान्वित हुन नसकेको बताउनुभयो । कृषि अभियान्ता डा. कृष्ण पौडेलले प्रकृतिमैत्री खेती प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो ।

किसान सञ्जालका डा. गोकर्ण ज्ञवालीले २०३० सम्म भोकमरीबाट अन्त्य गरिने राष्ट्रसंघको लक्ष्यलाई कोरोनाले धक्का दिएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले सम्मेलनका लागि आयोजक तथा प्राविधिक समितिको गठन तथा राष्ट्रिय प्रादेशिक एवं स्थानीय तहको छलफलका लागि तयारी भइरहेको जानकारी गराउनुभयो । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले सरकारलाई सीमान्तकृत कृषकसमक्ष पुर्‍याई नीति, निर्माणमा सघाउन यस्ता कार्यक्रम गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । राष्ट्रसंघले सन् २०३० को दिगो विकासको लक्ष्य हासिल गर्न बृहत् सम्मेलन गर्न लागेको छ । आगामी जुलाई २६ देखि २८ मा रोममा पूर्व-सम्मेलन हुँदैछ । 


Views: 52