21st June | 2021 | Monday | 12:32:20 PM

विदेशी लगानी व्यवस्थाको स्वागत

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (८:५४ AM)

विदेशी लगानी व्यवस्थाको स्वागत

बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ को स्वागत गरेका छन् । विनियमावलीमार्फत विदेशी लगानीसम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले स्वागत गरेको हो ।

सिविफिनले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको पूर्व-स्वीकृति आवश्यक नपर्ने व्यवस्था हुनुपर्ने धारणासहित गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रस्तुत सुझाव सम्बोधन भई नीतिगत रूपमा व्यवस्था भएकोले नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको समस्या हट्ने पनि सिविफिनले अपेक्षा गरेको छ ।

विश्वका धेरै देशले कोरोनाविरुद्धको खोप लगाउन थालिसकेको र नेपालले पनि खोप लगाउन सुरु गरेकोले आर्थिक क्रियाकलापले गति लिने भए पनि आर्थिक गतिविधि बढाउन ठूलो लगानी आवश्यक पर्ने भन्दै सिविफिनले सरकारले लिएको दीर्घकालीन सोच र चालु १५औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पूरा गर्न ठूलो लगानी आवश्यक पर्ने जनाएको छ ।

कोरोनापछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा नेपालले पनि वैदेशिक लगानी आकर्षित गर्न सहज लगानीमैत्री नीतिगत व्यवस्था र वातावरण सिर्जनाका लागि सरकार तथा राष्ट्र बैंकको पहल स्वागतयोग्य रहेको सिविफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 


Views: 57